नेउवा महासंघद्वारा स्टार्टअपसँग आवेदन माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजनाअनुसार मेन्टरसीप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन आह्वान गरेको छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ । समितिले गत चैत ९ मा पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताको समूहमा रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनीरूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिवद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.