काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन यही जेठ २४ र २५ गते ललितपुरमा आयोजना हुने भएको छ । महासंघले स्थापनाको ३६ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको अवसर पारेर सो कार्यक्रम गर्न लागेको हो ।
महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ‘हाम्रा उद्यमी, हाम्रो उत्पादन’ मूल मर्मका साथ आयोजना हुन लागेको महाधिवेशनमा देशभरका ७ वटै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमीहरू गरी करिब १ हजार जनाको सहभागिता रहने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले पत्रकार सम्मेलनका जानकारी दिए ।
महाधिवेशनले महासंघको संगठनात्मक सुदृढीकरण, विगतको प्रगति समीक्षा र भावी कार्यदिशा तय गर्नुका साथै लघु, घरेलु तथा साना उद्योग क्षेत्रका समसामयिक चुनौतीबारे व्यापक छलफल गर्ने जनाइएको छ । सोही अवसरमा महासंघ र केन्द्रीय महिला उद्यमी समितिको आगामी ३ वर्षका लागि नयाँ केन्द्रीय नेतृत्व समेत चयन गरिनेछ । महाधिवेशन अवधिभर नेपाली उद्यमीहरूले उत्पादन गरेका स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने महासंघले जनाएको छ ।
बजेटप्रति मिश्रित प्रतिक्रिया : नीति सकारात्मक, कार्यान्वयनमा शंका
यसैबीच, महासंघले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मिश्रित प्रतिक्रिया दिएको छ । समग्र रूपमा बजेट देशको आर्थिक पुनरुत्थान र उत्पादनमूलक क्षेत्रको प्रवर्द्धनतर्फ लक्षित देखिएकाले यसलाई स्वागत गरे पनि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनमा भने बजेटले खासै ध्यान दिन नसकेको गुनासो महासंघको छ ।
बजेटमा समावेश उद्योग तथा व्यवसायमैत्री कर नीतिमा सुधार, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन र ऊर्जा एवं पूर्वाधार विकासलाई प्राथमिकता दिइनु सकारात्मक पक्ष रहेको महासंघले उल्लेख गरेको छ । यस्ता व्यवस्थाले साना उद्योगहरूको उत्पादन लागत घटाई प्रतिस्पर्धी क्षमता बढाउन सहयोग पुग्ने महासंघको विश्वास छ ।

तर, बजेटमा घोषित नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र सहज वित्तीय पहुँच सुनिश्चित हुनुपर्नेमा महासंघले जोड दिएको छ । हाल निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको वृद्धिले साना उद्यमीहरू मारमा परेको भन्दै महासंघले स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ ।
नेपाल सरकारसँग सहकार्य गर्दै निजी क्षेत्र र सरकारबिचको साझेदारीलाई थप सुदृढ बनाएर मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको समेत महासंघले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।







Comments are closed.