रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार शर्मालाई, लम्साललाई सम्मान

पोखरा । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति पोखराको दोस्रो साधारण–सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा  रुद्रबहादुर भट्टराई स्मृति पत्रकारीता पुरस्कारबाट माधव शर्मालाई सम्मानित गरिएको छ ।

सम्मानित पत्रकार शर्माले पत्रकारिता क्षेत्रमा ५० वर्ष बिताएको अनुभव सुनाउँदै सम्मानले थप जिम्मेवारी बोध गरेको बताए । प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिता पालन गर्नुपर्ने बताउँदै पत्रकारले कोही कसैको व्यक्तिगत चरीत्र हत्या गर्ने र जनतालाई दिग्भ्रमित गर्ने समाचार सम्प्रेषण गर्न नहुने धारणा राखिन्  ।  पुरस्कारको राशी नगद ५१ हजार रुपैयाँ रहेको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नगद सहित उनलाई सम्मान गरेका हुन् ।

पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारको हकहितका लागि निरन्तर लडेको उल्लेख गर्दै पेशागत मर्यादामा सबै पत्रकार बस्नुपर्ने बताए । पुरस्कार अक्षयकोषका संरक्षक गोपी भट्टराईले समाज रुपान्तरणमा भुमिका खेल्ने पत्रकार जगतप्रति केही गर्न चाहना बुबाको रहेकाले उनको चाहनाअनुसार अक्षयकोष स्थापना गरेको बताए ।

त्यसैगरी उत्कृष्ट सदस्यको रूपमा कार्यसमिति सदस्य रामजीप्रसाद लम्साललाई सम्मान गरिएको छ । सो अवसरमा कार्यलय सचिव जगत कार्कीलाई पनि सम्मान गरिएको छ ।

You might also like

Comments are closed.