मुगुमा खाद्य कम्पनीद्वारा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म मुगु जिल्लामा १२ करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको खाद्यान्न विक्री गरेको छ ।

मुगुस्थित शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो तथा रातापानीस्थित विक्री केन्द्र र कालै सहकारीमार्फत करिब १६ टन चामल, तेल, दाल, चिनीलगायतका खाद्यान्न बिक्री भएको कम्पनीले जनाएको छ ।

खाद्य कम्पनी शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीका अनुसार पछिल्ला वर्षहरूमा सडक सञ्जालको विस्तारले गर्दा कम्पनीको खाद्यान्न आपूर्ति र विक्रीमा उल्लेख्य वृद्धि भएको छ। उनले भने, “बजारको तुलनामा सस्तो मूल्यमा खाद्यान्न पाइने भएकाले दैनिक करिब १५० जनासम्म खरिदकर्ताको भीड लाग्ने गरेको छ ।”

हाल कम्पनीको गोदाममा करिब ३ टन खाद्यान्न मौज्दात रहेको जनाइएको छ। मुगुमा स्टीम जिरा मसिनो चामल, अरुवा मोटा, र भिटा मिश्रण चामलको बढी माग रहेको छ ।

स्थानीयवासी सर्जन बढुवालका अनुसार, “स्थानिय बजारको तुलनामा सस्तोमा खाद्यान्न पाउँदा हामीलाई निकै सहज भएको छ।”

यहाँका अधिकांश बासिन्दाले आफ्नै उत्पादनबाट वर्षमा ४–५ महिनामात्र खान पुग्ने हुँदा खाद्य कम्पनीले उपलब्ध गराउने सहुलियतयुक्त खाद्यान्नप्रति निर्भर रहँदै आएका छन् ।

कुनै समय खाद्यान्न अभावले संकट भोग्नुपरेको मुगुमा अहिले भने सरकारी पहलका कारण खाद्यान्न सहज रूपमा उपलब्ध भई स्थानीयको दैनिकी सहज भएको जनाइएको छ ।

You might also like

Comments are closed.