‘चोरी पैठारी र न्युन विजकीकरणले स्वदेशी उद्योग धारासायी’

काठमाडौं । चोरी पैठारी र न्युन विजकीकरणले स्वदेशी जुत्ता तथा चप्पल उद्योग धारासायी बनेको बताइएको छ ।  व्यवसाय नै धारासायी हुनेगरि हुने चोरी पैठारीलाई नियन्त्रण र व्यवस्थापनको लागि सरकारले गरेका प्रयासलाई अझै चुस्त बनाउनुपर्ने उद्योगी तथा व्यवसायीले बताएका छन् । जुत्ता उत्पादक संघ नेपाल (फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपल)ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीले सो कुरा बताएका हुन् ।

उद्योगी तथा व्यवसायीले अस्तित्वको लडाई लडिरहेको फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपलका सल्लाहकार अमिर प्रताप जंग राणाले बताए । उद्योगी व्यवसायीको समस्या समाधानमा सरकारले सक्रिय सहभागिता नदेखाएको उनको भनाई छ ।

भन्सार नाकामा गस्ति बढाउनुका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयहरले सक्रियताका साथ चोरी पैठारी नियन्त्रणमा लाग्नुपर्ने पुर्व अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

फुटवयर उत्पादनमा नेपाली उद्योगको १६ करोड जोरभन्दा धेरै कूल उत्पादन क्षमता रहेको र वार्षिक ५ करोड जोर भन्दा धेरै निर्यात गर्ने क्षमता रहेको अध्यक्ष नानीराज घिमिरेले बताए ।

हाल नेपालमा करिव १ हजार ५ सय संगठित तथा संगठित रुपमा उद्योग रहेको र ५ करोड ६५ लाख जोर प्रतिवर्ष उत्पादन रहेको उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए । आयात र नियार्तको अवस्था तथा तथ्याङ हेर्दा पनि नेपाली उत्पादन भन्दा चोरी पैठारीबाट आयात भएको जुत्ता बजारमा धेरै देखिएको न्यौपानेले बताए ।

दक्षिण तिरको खुला सिमानाबाट हुने गरेको चोरी पैठारी न्युन विजकीकरणका कारण उद्योगी व्यवसायी मारमा परेको वरिष्ठ उपाध्यक्ष चोक कुमार श्रेष्ठले बताए । सरकारी निकायले नेपाली उत्पादनको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, एकतिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा एक हजार पाँच सयभन्दा बढी रहेको एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले बताए । आर्थिक वर्ष २०७८÷७९ मा नेपालबाट रु एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ मूल्य बराबरको जुत्ताचप्पल निर्यात भएको थियो ।

साथै उनले रु तीस अर्ब व्यवसायीको लगानी र रु चार अर्बभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

फुटवेयर उद्योगमा ३० अर्बभन्दा धेरै लगानी स्वदेशी उद्यमीले गरेको र ४ अर्बभन्दा धेरै बैंक लगानी रहेको महासचिव ज्ञानेन्द्र दाहालले बताए ।

You might also like

Comments are closed.