काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडी (BYD) सन् २०२५ को फर्च्युन ग्लोबल ५०० सूचीमा ९१औं स्थानमा उक्लिँदै ऐतिहासिक सफलता हासिल गर्न सफल भएको छ । अघिल्लो वर्ष १४३औं स्थानमा रहेको बीवाईडीले पहिलोपटक शीर्ष १०० भित्र प्रवेश गरेको हो । यो सन् २०२२ यता लगातार सूचीमा समावेश हुँदै आएको बीवाईडीका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।
गत वर्ष कम्पनीको व्यावसायिक वृद्धिमा उल्लेखनीय फड्को आएको थियो । कम्पनीले चारवटै प्रमुख उद्योगमार्फत व्यापारमा उत्साहजनक वृद्धि गर्दै वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (अन्दाजी १४ खर्ब ३८ अर्ब नेपाली रुपैयाँ) पुर्याएको थियो, जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले वृद्धि हो ।
सन् २०२४ मा बीवाईडीले ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल (NEV) बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्यो । यो ४१ प्रतिशतको वार्षिक वृद्धिलाई जनाउँछ । लगातार तेस्रो वर्ष विश्वभर न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा अग्रस्थानमा रही बीवाईडी विश्व अटोमोबाइल बजारमा एक बलियो प्रतिस्पर्धीको रूपमा स्थापित भएको छ ।
कम्पनीका अनुसार यस्तो ऐतिहासिक प्रगति प्रविधिमा आधारित इनोभेसन रणनीति र आरएन्डडी (R&D) मा गरिएको दीर्घकालीन लगानीकै प्रतिफल हो । सन् २०२४ मा मात्र कम्पनीले आरएन्डडीमा ५४ अर्ब २० करोड युआन लगानी गर्यो, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो । विशेष कुरा के छ भने बीवाईडीको नाफालाई समेत यो लगानीले उछिनेको छ ।
बीवाईडीले ब्लेड ब्याट्री, डफआईएसयूएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम र मेगावाट फ्ल्यास चार्जिङजस्ता अत्याधुनिक प्रविधिहरू विकास गरेर उद्योगमा नवप्रवर्तनको नयाँ आयाम थपेको छ। कम्पनीले विगत १४ वर्षमध्ये १३ वर्ष आरएन्डडीमा अधिकतम लगानी गर्दै आएको छ, जसले दीर्घकालीन प्राविधिक क्षमतामा नयाँ उचाइ थपेको छ ।
ग्लोबलाइजेसन र लोकलाइजेसन रणनीतिअन्तर्गत सन् २०२५ मा बीवाईडीले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गर्दै नयाँ माइलस्टोन पूरा गर्यो । चालु वर्षको पहिलो ६ महिनामा मात्र चीनबाहिर ४ लाख ७० हजार भन्दा बढी गाडी बिक्री भइसकेका छन्। ओभरसिज विस्तार अन्तर्गत बीवाईडीले हङ्गेरीमा युरोपियन हेडक्वार्टर स्थापना गरेको छ भने ब्राजिल र थाइल्याण्डमा उत्पादन र डेलिभरीका उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेको छ ।
बीवाईडीका न्यू इनर्जी भेहिकलहरू हाल विश्वका ११२ देशहरूमा उपलब्ध छन् । फर्च्युन ग्लोबल ५०० मा हासिल नयाँ स्थानले कम्पनीको नवप्रवर्तनशीलता, अन्तर्राष्ट्रिय विस्तार र दिगोपनप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । बीवाईडीले “कुल द अर्थ बाइ १ डिग्री सेल्सियस” भन्ने लक्ष्यसहित दिगो भविष्यका लागि आफ्नो यात्रालाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ ।
Comments are closed.