व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्थापन हुन्छः मन्त्री कँडेल

गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गर्ने बताएका छन् ।

मन्त्री कँडेलको सम्मानमा होटेल तथा रेष्टुरेन्ट एशोसिएशन, लेखनाथद्वारा बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उनले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न माग अनुसार खोपको व्यवस्थापन गर्न सरकार गम्भीर रहेको बताए ।

पर्यटकीय रुपमा लेखनाथ क्षेत्र धेरै सम्भावना भएर पनि ओझेलमा परेको उल्लेख गर्दै उहाँले यसका लागि यहाँका सरोकारवालाको निरन्तर सक्रियता आवश्यक हुनेमा जोड दिए । उनले तालको संरक्षणका लागि जलाधार क्षेत्रबाट आउने गेग्रानको नियन्त्रणका लागि तत्काल पहल थाल्न सरोकारवाला सबैसँग आग्रह पनि गरे ।

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले सम्भावना भएर पनि ओझेलमा परेको लेखनाथ क्षेत्रको पर्यटकीय विकासलाई चासो दिन मन्त्री कंडेललाई आग्रह गरे । सो तालका डुङ्गा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेलले कोरोनाका कारण प्रभावित पर्यटनलाई जोगाउनका लागि राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

होटेल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दुर्गाप्रसाद अधिकारीले प्राकृति रुपमा सम्पन्न लेखनाथमा बाटोघाटोलगायत पूर्वाधार विकासमा राज्यले चासो दिनुपर्ने आवश्यकता औँल्याए ।

पचभैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीनानाथ ढकालले लेखनाथ क्षेत्र अझै पनि सरकारको प्राथमिकतामा नपरेको बताउँदै राजनीतिक तहबाट आश्वासनभन्दा पनि कार्यान्वयनको पाटोलाई ध्यान दिन आग्रह गरे । होटेल तथा रेष्टुरेण्ट एशोसिएशन, लेखनाथका अध्यक्ष अर्जुनप्रसाद लम्सालले लेखनाथलाई सात तालको शहर भनिए पनि त्यस अनुरुप यसको प्रवद्र्धन र विकासमा सरकारको ध्यान नपुगेको गुनासो गरे ।

उक्त अवसरमा मन्त्री कँडेलले बेगनास ताल, बराह, माझीकुनालगायत स्थानमा पुगी त्यहाँका धार्मिक पर्यटकीय सम्भावना बारे जानकारी लिएका थिए ।

You might also like

Comments are closed.