पोखरा ।
गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्षबीच राम्रो र नराम्रो भन्ने जुहारी चलेको छ । जेठ १८ गते प्रदेश सभामा प्रस्तुत भएको प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्ता पक्षीय सांसदहरुले नीति तथा कार्यक्रम २०७७÷७८ राम्रो तथा प्रतिपक्षले नराम्रो भन्दै जुहारी खेलेका छन् । नीति तथा कार्यक्रम राम्रो भन्ने सत्तारुढ सांसदहरुले कोरोना केन्द्रीत गर्दै प्रदेशको विकास र समृद्धीको खाकासहित नीति तथा कार्यक्रम आएको बताएका छन् भने प्रतिपक्षी सांसदहरुले सरकारले कोरोनालाई चिन्न नसकेकाले त्योसँग लड्न र त्यसबाट प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्न ठोस योजना र कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ नेकपाका सांसद राजिव पहारीले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै यसबाट प्रभावित पर्यटनसहितको अर्थतन्त्रलाई चलायमान गराउने ठोस खाका लिएर नीति तथा कार्यक्रम आएको बताए । उनले भने,‘नीति तथा कार्यक्रम प्रदेशको समृद्धिको सपना पूरा गर्ने भिजन र मिसनसहित कार्यान्वयन गर्ने योजनासहित आएको छ ।’ उनले विपक्षीले गोयवल्स शैलिमा राम्रोलाईपनि नराम्रो भनिरहेको भन्दै प्रतिपक्षलाई प्रश्न गर्दै भने,‘संकटको यो समयमा डाँडामा बसेर कोरोना आयो, कोरोना आयो भनेर चिच्याउने कि सरकारलाई सहयोग गर्ने ?।’
सांसद दीपक कोइरालाले पटक÷पटक पढ्दापनि नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नपाएको बताए । समाजबाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्धेश्यले आएको नीति तथा कार्यक्रमले कोरोना परास्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
सांसद प्रभा कोइरालाले विकास र समृद्धिको खाकासहित नीति तथा कार्यक्रम आएको बताइन् ।
सांसद मनबहादुर गुरुङले प्रदेशको नीति तथा कार्यक्रम गर्व गर्न लायक भएको बताए ।
सांसद ईन्द्रलाल सापकोटाले कोरोना नियन्त्रणसँगै प्रदेशको विकासमा फड्को मार्नेगरी नीति कार्यक्रम आएको बताए ।
सांसद धनञ्जय दवाडीले सरकारको नीति तथा कार्यक्रम हेरेर सरकार जनउत्तरदायी छ भन्ने प्रष्ट भएको बताए ।
सांसद रामबहादुर गुरुङले प्रदेशको नीति तथा कार्यक्रम विकासको बाटोमा लम्किदै समृद्धीको खाका लिएर आएको बताए ।
सांसद दिलमाया रोकाले वर्तमान असामान्य अवस्थामा आएको नीति तथा कार्यक्रम आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्धेश्यसहित आएको बताइन् ।
प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद ओमकला गौतमले जनताको भावना, चाहना र ईच्छा, आकांक्षा तथा वर्तमान परिस्थितिको आवश्यक्ता विपरित नीति तथा कार्यक्रम आएको आरोप लगाइन् । अहिले आएको नीति कार्यक्रमले जनताको रोग र भोक नटर्ने उनले दाबी गरिन् । उनले भनिन्,‘रोग निकोपार्न उपचार चाहिन्छ अनि भोक निको पार्न खाना, तर यो नीति तथा कार्यक्रममा दुबै छैन ।’
सांसद डोबाटे विश्वकर्माले कोरोनासँग लड्ने ठा्स योजना र कार्यक्रम नीति तथा कार्यक्रममा नआएको भन्दै सच्याउन आग्रह गरे ।
सांसद विष्णुप्रसाद सापकोटाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै यसको प्रभावबाट जोगाउने योजना नै नआएको बताउँदै भने,‘भनौं सम्धीको चित्त दुख्ने, नभनौं छोरीको नाक बुच्चै भनेजस्तो नीति कार्यक्रम छ ।’
सांसद ललितकला गुरुङले प्रतिपक्षलाई साथ नलिएसम्म ‘समृद्ध प्रदेश सुखी नागरिक’को संकल्प पूरा नहुने भन्दै प्रतिपक्षको सुझावलाई नीति तथा कार्यक्रममा समेट्न आग्रह गरिन् ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम साहीले नीति कार्यक्रम सुन्दा र पढ्दा राम्रो लागेपनि कार्यान्वयन हुने सम्भावना नदेखेको बताए ।
संसदको अर्को बैठक यहि जेठ २१ गते बुधबार पूर्वाह्न ११ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।
Comments are closed.