स्वास्थ्य सामग्री व्यवस्थापनका लागि पालिकामा बजेट विनियोजन

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा रु पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजनसहितको कोभिड–१९ केयर युनिट(आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइएको छ ।

पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताए । पिसिआर परीक्षणको नतिजा आउन ढिलाइ भएकाले समेत सङ्क्रमण तीव्ररूपमा फैलिएको बताउँदै उनले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए ।

सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गरी प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, “यो सङ्कटको बेला हो, युद्धको बेला हो । महामारीलाई परास्त गर्न सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।”

You might also like

Comments are closed.