‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए ।

गण्डकी प्रदेशमा अहिले रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको उद्घाटनसमेत गरेका थिए । कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिइन् ।

साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले रु ५५ लाख ८४ हजार १६६ बचत गर्न सफल भएको बताइन् । चालु आव २०७८/७९ मा संस्थाले रु दुई करोड २० लाख ११ हजार आम्दानी गर्ने लक्ष्य राखेको उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.