नेपालको वैदेशिक व्यापार र कार्गो सेवा

गंगाबहादुर राया
कार्यसमिति सदस्य, नेपाल फ्रेट फरवार्डरस एसोसिएसन
संयोजक, पब्लिकेसन समिति

कार्गो सेवा भनेको सामानहरूलाई एक स्थानबाट अर्को स्थानसम्म सुरक्षित, भरपर्दो र तोकिएको समयमा ढुवानी गर्ने अत्यावश्यक सेवा हो । यस उद्योगले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जल, स्थल र हवाई मार्गमार्फत निकासी तथा पैठारी व्यापारलाई सहजीकरण गर्दै आएको छ । वैदेशिक व्यापारलाई सुलभ र सहज बनाई समग्र देशको आर्थिक विकासमा सुदृढ आधार निर्माण गर्नु कार्गो सेवाको प्रमुख दायित्व तथा योगदान हो ।

कार्गो सेवा केवल वस्तु ढुवानीको साधन मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारलाई जोड्ने र देशको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्ने मुख्य मेरुदण्ड हो ।

नेपालको वैदेशिक व्यापार र कार्गो क्षेत्रले बहुआयामिक चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । भौगोलिक बनावट र भौतिक पूर्वाधारको कमीका कारण विभिन्न समस्याहरु उत्पन्न भइरहेका छन् । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुन्द्री सतहसँग सिधै सम्पर्क छैन । यसले गर्दा समुन्द्री मार्गबाट हुने वैदेशिक व्यापारको ढुवानी भाडा र समय अन्य देशहरूको तुलनामा अत्यधिक लाग्ने गरेको छ । हवाई मार्गमा ठूला र पर्याप्त मात्रामा कार्गो बोक्न सक्ने मालवाहक जहाजहरूको सेवा उपलब्ध छैन । सीमित क्षमताका कारण हवाई ढुवानी भाडा समेत निकै चर्को व्यहोर्नुपर्ने बाध्यता छ । देशको आन्तरिक सडक पूर्वाधार ज्यादै दयनीय अवस्थामा छ । प्राकृतिक विपत्ति तथा अन्य विभिन्न कारणहरूले गर्दा निरन्तर हुने सडक अवरोधले ढुवानी समय र लागत दुवैमा प्रत्यक्ष नकारात्मक प्रभाव पारिरहेको छ । यस्ता समस्या समाधानमा सरकार लगायत सरोकारवालाहरु सबै गम्भिर बन्न जरुरी छ ।

नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि व्यवस्थित कार्गो तथा लजिस्टिक्स सेवा अपरिहार्य छ । भूपरिवेष्ठित चुनौतीका बाबजुद सडक पूर्वाधारको स्तरोन्नति, हवाई कार्गो क्षमताको विस्तार र ढुवानी प्रक्रियामा सहजीकरण गर्न सकेमा यो क्षेत्रले मुलुकको आर्थिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ ।

You might also like

Comments are closed.