काठमाडौं । राष्ट्रियस्तरको गरिमा विकास बैंक अझै सशक्त बन्ने भएको छ । प्रदेश २ मा केन्द्रीय कार्यालय रहेको सहारा विकास बैंकलाई बैंकले प्राप्ती गर्ने भएको छ । १५ गते सम्पन्न गरिमाको विशेष साधारणसभाले सहारालाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । १३ गते सम्पन्न सहाराको विशेष साधारणसभाले पनि गरिमाले प्राप्ती गर्ने प्रस्तावलाई पारित गरिसकेको छ ।
राष्ट्रबैंकले स्वीकृति दिएपछि छिट्टै संयुक्त कारोबार सुरु हुने गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले जानकारी दिए । गरिमाको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ छ भने सहाराको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ छ ।
२०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमामा यस अघि म्याग्दीको निलगिरी र चितवनको शुभेच्छा विकास बैंकहरु गाभिएका थिए । गरिमाले हाल देशभर सातै प्रदेशमा १ सय ६ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । सहाराले प्रदेश नं. २ मा ४ शाखा र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । गरिमाले छिट्टै १६ वटा शाखा र एउटा एक्स्टेन्सन काउन्टर विस्तार गर्ने तयारी गरेको छ ।
‘गरिमा अब थप सशक्त विकास बैंकको रुपमा स्थापित भइ मुलुकको बैंकिङ परिदृश्यमा प्रभावकारी रुपमा आफ्नो उपस्थिति जनाउनेछ,’ ढकालले भने, ‘गरिमा अब पूर्ण रुपमा हिमाल, पहाड र तराईको बैंक भएको छ ।’
Comments are closed.