भारतमा ग्यास संकट, धेरै राज्यमा सिलिन्डर आपूर्ति रोकिँदा होटल–रेस्टुरेन्ट प्रभावित

काठमाडौं । भारतमा खाना पकाउने ग्यास (एलपीजी) को आपूर्तिमा ठूलो संकट देखिएको छ । आपूर्ति अभावका कारण मध्य प्रदेश, उत्तराखण्ड, महाराष्ट्र, पञ्जाब, राजस्थान, छत्तीसगढ, हरियाणा, कर्नाटक, तेलंगाना र आन्ध्र प्रदेशलगायतका राज्यहरूमा व्यावसायिक ग्यास सिलिन्डरको आपूर्ति रोकिएको छ ।

ग्यास आपूर्ति प्रभावित भएपछि ती राज्यहरूमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरू बन्द हुने अवस्थामा पुगेका छन् । विशेषगरी विवाहको सिजनमा ग्यास अभाव हुँदा व्यवसायीहरू थप समस्यामा परेका छन् ।

पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनावका कारण भारत आउने एलपीजी ढुवानीमा ढिलाइ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसका कारण घरेलु बजारमा ग्यास अभाव सुरु भएको हो ।

मध्य प्रदेशमा होटल तथा रेस्टुरेन्ट व्यवसायीका अनुसार हालै व्यावसायिक सिलिन्डरको मूल्य १७७३ रुपैयाँबाट बढेर १८८८ रुपैयाँ पुगेको छ । उनीहरू बढेको मूल्य तिर्न तयार भए पनि विवाहको सिजनमै ग्यास आपूर्ति रोकिँदा व्यवसाय सञ्चालन कठिन भएको बताएका छन् ।

राजस्थानमा तेल कम्पनीहरूको निर्णयले ३ लाखभन्दा बढी मानिसको रोजगारी जोखिममा परेको होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको भनाइ छ। ग्यासको विकल्प नभएकाले होटल, रेस्टुरेन्ट, म्यारिज गार्डन र अन्य उद्योगहरू प्रभावित भएका छन् ।

महाराष्ट्रको मुम्बई, पुणे र नागपुरमा व्यावसायिक ग्यासमा ठूलो कटौती गरिएको छ । पुणेमा अवस्था गम्भीर बन्दा नगर निगमले ग्यास शवदाह गृहहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ। राज्यका करिब ९ हजार रेस्टुरेन्ट र बार बन्द हुने जोखिममा रहेको बताइएको छ ।

पञ्जाबमा मार्च ८ देखि नै १९ किलोका व्यावसायिक तथा ठूला औद्योगिक सिलिन्डरको वितरण रोकिएको छ । वितरकहरूलाई २५ दिनअघि कुनै पनि घरेलु सिलिन्डरको बुकिङ नलिन निर्देशन दिइएको छ ।

आन्ध्र प्रदेश र तेलंगानाका धेरै सहरहरूमा, विशेषगरी हैदराबादमा व्यावसायिक सिलिन्डरको बुकिङ स्थगित गरिएको छ। साना होटल तथा भोजनालय सञ्चालकहरूले सरकारसँग आपूर्ति पुनः सुरु गर्न आग्रह गरेका छन् ।

संकटलाई ध्यानमा राख्दै भारतको पेट्रोलियम मन्त्रालयले तीन तेल कम्पनीका कार्यकारी निर्देशकहरूको उच्चस्तरीय समिति गठन गरेको छ, जसले ग्यास आपूर्तिको अवस्थाबारे समीक्षा गर्नेछ ।

घरेलु एलपीजी सिलिन्डरको रिफिल बुकिङमा पनि नयाँ नियम लागू गरिएको छ। अब उपभोक्ताले एउटा सिलिन्डर डेलिभरी भएको २१ दिनपछि होइन, २५ दिनपछि मात्र अर्को सिलिन्डर बुक गर्न सक्नेछन्। ग्यासको भण्डारण रोक्न डेलिभरी एजेन्टहरूले OTP वा बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्न थालेका छन् ।

तेल मार्केटिङ कम्पनीहरूलाई प्रोपेन र ब्युटेनको प्रयोग व्यावसायिक सिलिन्डरभन्दा बढी घरेलु ग्यास उत्पादनमा प्रयोग गर्न निर्देशन दिइएको छ। आवश्यक वस्तु ऐनअन्तर्गत आपतकालीन प्रावधानसमेत लागू गरिएको छ ।

इन्डियन आयलका मुख्य महाप्रबन्धक (एलपीजी) के.एम. ठाकुरले उपभोक्तालाई नआत्तिन र अनावश्यक बुकिङ नगर्न आग्रह गरेका छन् । सरकारले अमेरिकालगायत अन्य देशहरूबाट वैकल्पिक आपूर्ति ल्याउने विकल्पसमेत अध्ययन गरिरहेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय स्तरमा जी–७ देशहरूले पनि आपतकालीन तेल भण्डारबाट आपूर्ति उपलब्ध गराउने विषयमा छलफल गरिरहेका छन्। सरकारका अनुसार सबै रिफाइनरी कम्पनीहरूलाई एलपीजी उत्पादन बढाउन निर्देशन दिइएको छ ।

यता, संकटका बीच सरकारले घरेलु ग्यास सिलिन्डरको मूल्य ६० रुपैयाँले बढाएको छ । दिल्लीमा १४.२ किलोग्रामको घरेलु एलपीजी सिलिन्डरको मूल्य अब ९१३ रुपैयाँ पुगेको छ भने १९ किलोग्रामको व्यावसायिक सिलिन्डरमा ११५ रुपैयाँ वृद्धि भई १८८३ रुपैयाँ पुगेको छ । नयाँ मूल्य मार्च ७ देखि लागू भएको छ ।

You might also like

Comments are closed.