२ वर्षमा ५० लाखको छात्रवृत्ती प्रदान गर्दै ग्लोबल कलेज, एलिनालाई एमबिएमा पूर्ण छात्रवृत्ती

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले एमबिए अध्ययनका लागि एलिना श्रेष्ठलाई पूर्ण छात्रवृत्ती प्रदान गरेको छ । मनिषा कोइराला क्यान्सर शिक्षा कोष (एमकेसिइएफ) बाट कलेजले उनलाई छात्रवृत्ती प्रदान गरेको हो । चर्चित अभिनेत्री मनिशा कोइरालाको संरक्षकत्वमा ग्लोबल कलेज इन्टरनेशनले कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना सञ्चालक प्रमुख रहने गरी कलेजले गत वर्ष ५० लाख रुपैयाँको कोष घोषणा गरेको थियो ।

एलिनालाई शुक्रबार अभिनेत्री कोइराला र प्रिन्सिपल ठगुन्नाले छात्रवृत्ती हस्तान्तरण गरेका हुन् । छात्रवृत्ती प्राप्त गर्ने एलिना शारिरीक रुपमा अपाङगता भएपनि अध्ययनमा अब्बल छन् । छात्रवृत्ती प्राप्त गर्दा निकै गौरव महसुस भएको बताउँदै उनले राम्रो अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । छात्रृवत्तीका लागि कलेजले उपयुक्त विद्यार्थी छनोट गर्न सफल भएको उक्त अवसरमा बोल्दै अभिनेत्री कोइरालाले बताइन् ।

कलेजले स्थापना गरेको ५० लाख रुपैयाँ बराबरको कोषको रकम २ वर्षभित्रमा छात्रवृत्तीमा खर्च गर्ने प्रिन्सिपल ठगुन्नाले जानकारी दिए । छात्रवृत्ती प्राप्त गर्ने श्रेष्ठलाई राम्रो अध्ययनको लागि उनले शुभकामना दिए ।

यस अगाडि गत फागुनमा पालिष्ठा प्रजापतीले उक्त कोषबाट एमबिए शतप्रतिशत छात्रबृत्ती प्राप्त गरिसकेकी छन् । उनले क्यान्सरका कारण बाबु आमा दुवै गुमाएकी थिइन् । ‘व्याचलर र मास्टर्स अध्ययन गर्ने विद्यार्थी लागि कोषबाट छात्रवृत्ती प्रदान हुन्छ,’ प्रिन्सिपल ठगुन्नाले भने । बिबिए र बिटिटिएमबाट यसैवर्ष एक÷एक जनाले पूर्ण छात्रवृत्ती पाउनेछन् । ‘छात्रवृत्तीका लागि आह्वान गरिसकेका छौं,’ उनले भने । आगामी वर्ष पनि थप ४ जनाले पूर्ण छात्रवृत्ती पाउनेछन् । क्यान्सर पीडित विद्यार्थी वा बच्चाहरू तथा जटिल प्रकारका रोग लागेका वा शारिरीक अपांगता भएका विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरेर यो कोष स्थापना गरिएको हो ।

कोषबाट देशभर रहेका विद्यार्थीलाई पनि सहयोग गर्ने तयारी भइरहेको छ । देशभरबाट उपयुक्त विद्यार्थी छनोट गरी ५ लाख रुपैयाँ बराबरको छात्रवृत्ती प्रदान गर्ने कोषको तयारी छ । आवश्यकता अनुसार नगद, खाजा, स्टेसनरी, ड्रेस लगायतमा सहयोग हुने गरी विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान हुनेछ ।

You might also like

Comments are closed.