कर छुट र सरल निर्यात प्रक्रियाका लागि सरकारी नीतिगत टेवा अपरिहार्य छ: निर बहादुर विश्वकर्मा

महासचिव, नेपालको रत्न तथा आभूषण महासंघ

नेपालको रत्न तथा आभूषण क्षेत्र कला, संस्कृति र अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा हो । यस क्षेत्रका विविध आयाम, सम्भावना र चुनौतीहरूका विषयमा केन्द्रीत रहेर नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव,निर बहादुर विश्वकर्मा, गरिएको एक  कुराकानीः

महासचिवको गहन जिम्मेवारीलाई तपाईले कसरी सम्हालिरहनुभएको छ ?

महासंघको प्रशासनिक नेतृत्व सम्हाल्दै नीति निर्माणमा सहजीकरण, सरोकारवालाहरूसँग प्रभावकारी समन्वय, व्यवसायीहरूको हक–हित संरक्षण र समग्र क्षेत्रको विकासका लागि रणनीतिक पहल गर्नु नै मेरो मुख्य दायित्व हो । महासंघका हरेक योजना र कार्यक्रमको सफल कार्यान्वयन मेरो प्राथमिकता हो ।

सुनचाँदी व्यवसायको नियमन र उपभोक्ता हितका लागि वर्तमान कानूनी व्यवस्था कत्तिको पर्याप्त छ ? सुधारका क्षेत्र के देख्नुहुन्छ ?

नेपालमा सुनचाँदी व्यवसाय परम्परागत रूपमा विकसित भएको भए पनि यसलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रयत्नहरू अझै पर्याप्त देखिँदैनन् । हालको अवस्थामा यस व्यवसायलाई नियमन गर्ने कुनै विशेष, समर्पित ऐन छैन । केही हदसम्म उपभोक्ता संरक्षण ऐन, घरेलु तथा साना उद्योग प्रवद्र्धन सम्बन्धी नीति, कर प्रणाली तथा व्यापार सम्बन्धी नियमहरूमार्फत सुनचाँदी व्यवसायलाई नियमन गर्ने प्रयास गरिएको छ । तर यी नियमहरू विखण्डित, अस्पष्ट र व्यवहारमा कार्यान्वयन गर्न कठिन देखिन्छन् । त्यसैले, वर्तमान कानुनहरूको समिक्षा गरी स्पष्ट, समर्पित र व्यवहारमै लागू गर्न सकिने व्यवसायमैत्री कानुनी ढाँचा आवश्यक छ । तवमात्र सुनचाँदी व्यवसायलाई व्यवस्थित ढंगले अगाडि बढाउन र उपभोक्ताको विश्वास कायम राख्न सकिन्छ ।

रत्न आभूषण क्षेत्रको उत्थानका लागि सरकारबाट कस्ता नीतिगत सहयोगको अपेक्षा गर्नुहुन्छ ?

हाम्रो अपेक्षा स्पष्ट छ, व्यवसायमैत्री कर प्रणाली, सरल आयात–निर्यात प्रक्रिया, निर्यातमा ठोस प्रोत्साहन योजना, सीप विकासका लागि व्यापक तालिम कार्यक्रम, र स्वदेशी उत्पादनको प्रवद्र्धनमा दरिलो सरकारी सहकार्य। यस्तो सहयोगले मात्र यो क्षेत्र फस्टाउन सक्छ ।

नेपालका बहुमूल्य रत्न पत्थरमा कत्तिको सम्भावना देख्नुहुन्छ ? यसको उत्खनन र बजारीकरणमा महासंघको भूमिका के हुन्छ ?

नेपालमा पाइने बहुमूल्य रत्न पत्थरहरू उत्खनन, प्रशोधन र बजारीकरणको दृष्टिकोणले अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । नेपालको भौगोलिक विविधता र हिमाली भूभागमा यस्ता खनिजको प्रचुरता रहेको अनुमान गरिन्छ । यद्यपि, पर्याप्त अनुसन्धान, प्रविधि, पूर्वाधार र नीति अभावका कारण यो क्षेत्र अझै परिपक्व हुन सकेको छैन । रत्नहरूको प्रशोधन र मूल्यवद्र्धनमा आधारित उद्योगको विकासले आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सृजना र आर्थिक समृद्धिमा टेवा पु¥याउन सक्छ । यसका लागि आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन, गुणस्तरीय प्रयोगशाला तथा मूल्यांकन प्रणाली अपरिहार्य छन् ।
यस सन्दर्भमा यस महासंघले नीति निर्माणमा सरकारसँग सहकार्य, सीप विकासका कार्यक्रम संचालन, उत्पादन र बजारिकरणमा आवश्यक सहजीकरण तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली रत्नको पहिचान स्थापित गर्न नेपाल सरकार समक्ष पहल गर्दै आइरहेको छ ।

नेपाली रत्नलाई विश्व बजारमा ’ब्रान्ड’ बनाउन कस्ता कदम चाल्नुपर्ला ?

पहिलो, गुणस्तर प्रमाणीकरण र हलमार्किङमा उत्कृष्टता हासिल गर्नुपर्छ । दोस्रो, लक्षित बजार पहिचान गरी अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी र डिजिटल प्लेटफर्ममार्फत आक्रामक ’ब्राण्डिङ’ र नेटवर्क विस्तार गर्नुपर्छ। तेस्रो, निर्यात प्रोत्साहन, कर छुट र सरल निर्यात प्रक्रियाका लागि सरकारी नीतिगत टेवा अपरिहार्य छ । यी त्रिवेणीले नेपाली रत्नलाई विश्वमा स्थापित गर्नेछ ।

आगामी दिनमा महासंघका प्राथमिकताहरू के–के हुनेछन् यस क्षेत्रको भविष्यलाई तपाईं कसरी हेर्नु हुन्छ ?

व्यवसाय मैत्री नीति निर्माण, कार्यान्वयनमा रहेको नीतिमा सुधार, प्रविधिको समावेशीकरण, गुणस्तर मापदण्डको कार्यान्वयन र अन्तर्राष्ट्रियकरण महासंघको प्राथमिकता हुनेछ । भविष्य सम्भावनायुक्त छ, सशक्त सहकार्य आवश्यक छ ।

प्रविधिले यो परम्परागत व्यवसायमा कस्तो क्रान्ति ल्याउन सक्छ ?

प्रविधिले परम्परागत व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र विश्वव्यापी बनाउँदै साँचो अर्थमा क्रान्ति ल्याउन सक्छ, अनलाइन बिक्री प्रणालीले बजारको भौगोलिक सीमा तोड्छ, थ्रीडी डिजाइन सफ्टवेयरले ग्राहकको कल्पनालाई तुरुन्तै आकार दिन्छ, र अत्याधुनिक मेसिनरीले उत्पादनमा उत्कृष्टता, विविधता र नवीनता थप्छ । यो साँच्चै एक ’गेम चेन्जर’ हो ।

आम उपभोक्ताले बहुमूल्य गहना किन्दा ठगिनबाट जोगिन के कुरामा चनाखो हुनुपर्छ ?

सुनचाँदी तथा रत्न आभुषण जस्तो मूल्यवान वस्तु खरिद गर्दा उपभोक्ताहरूले विभिन्न कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो, बिल वा रसिद अनिवार्य लिने जस्मा स्पष्ट मूल्य, तौल र गुणस्तर सहितको विवरण उल्लेख हुनुपर्दछ । तौल र मेकिङ चार्जबारे प्रस्ट जानकारी लिने, विश्वसनीय व्यवसायी वा दर्ता भएको पसलबाट किनमेल गर्ने, बहुमूल्य रत्न खरिद गर्दा त्यस्को परीक्षण तथा प्रमाणीकरण गरिएको छ कि छैन हेर्ने, फिर्ता वा एक्सचेन्ज नीतिबारे जानकारी राख्ने, डिजिटल प्लेटफर्ममा किनमेल गर्दा विश्वसनीयता पुष्टि गर्ने ।

अन्त्यमा, व्यवसायी, उपभोक्ता र सरकारलाई यहाँको के सन्देश छ ?

सहकार्य, विश्वास र पारदर्शिता, व्यवसायी मित्रहरूले इमान्दारिता र गुणस्तरलाई शिरोपर गरौं, उपभोक्ताहरू सचेत र जागरुक बनौं, र सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्दै व्यवसायमैत्री वातावरण बनाओस् । तीनै पक्ष (व्यवसायी, सरकार र उपभोक्ता) को सहकार्यले मात्र सुनचाँदी व्यवसाय सुरक्षित, व्यवस्थित र दिगो बन्न सक्छ ।

 

 

You might also like

Comments are closed.