पोखरामा शतप्रतिशतसम्म घरभाडा छुट, छुट दिने घरधनीलाई सम्मान

पोखरा ।

पोखराका ४ सय घरधनीले घरभाडा छुट दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का समयमा व्यवसायीहरुलाई राहत पुगोस् भनेर पोखराका ४ सय घरधनीहरुले घरभाडा छुट दिएको नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले जनाएको छ । यसरी घरभाडा छुट दिनेहरु मध्ये ५० प्रतिशत देखि शतप्रतिशतसम्म घरभाडा छुट दिनेसम्मका रहेको समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए ।

घर बहाल सरोकार महासंघको स्थापना दिवसको अवसरमा आयोजित ‘सम्मान तथा अन्र्तक्रिया’ कार्यक्रममा बोल्दै समितिका अध्यक्ष न्यौपानेले बन्दाबन्दीको समयमा घरभाडा छुट दिनेहरुको लगत संकलन भइरहेको र अहिलेसम्म ४ सय जनाले घरभाडा छुट दिएको भनेर रिपोर्ट आएको बताए । हामी लगत संकलन गरिरहेका छौं,‘उनले भने,‘घरघरमा पुग्न समस्या छ, त्यसैले अहिले पाएको रिपोर्ट कम हो, अझै धेरैको संख्यामा घरभाडा छुट दिनेहरु भएपनि उनीहरुको नामावली संकलन गर्न बाँकी छ ।’

jutta mela

समितिले बन्दाबन्दीको समयमा घरभाडा छुट दिन अपिल गर्दै आएको छ । सकिन्छ पूर्ण रुपमा घरभाडा छुट दिनुस् भनेका छौं,उनले भने,‘पूर्ण रुपमा छुट दिन सकिन्न भने कम्तिमा ५० प्रतिशत वा त्यो भन्दा धेरै छुट दिन आग्रह गर्दछौं ।’ उनले आफूहरुको आग्रहलाई धेरैले स्वीकार गरेको भन्दै थपे,‘हामीले विनम्रतापूर्वक आग्रह गर्ने हो, हाम्रो आग्रहलाई अधिकांशले स्वीकार गर्नुभएको छ, आगामी दिनमापनि घरधनीले हाम्रो कुरा सुन्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’

समितिका निवर्तमान अध्यक्ष तथा घर बहाल सरोकार महासंघका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले घरभाडा छुट दिनेलाई हौसला प्रदान गर्न राज्यले लिने कर छुटका लागि महासंघले पहल गरिरहेको बताए ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले घरधनी र घरभाडामा बस्ने दुबै बाँच्नेगरी निकास खोज्नुपर्ने बताए । अहिलेको अवस्थामा दुबै बाँच्नेगरी बिचको बाटोबाट समाधान खोज्नुपर्छ,‘उनले भने,‘निकास यस्तो आओस कि भाडामा बस्नेपनि बिस्थापित नहोस्, अनि घरधनीलाईपनि असर नपरोस् ।’

बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोलाले पेशा÷व्यवसाय पुरानै लयमा फर्काउन चुनौति रहेको भन्दै यसलाई चिर्न घरधनीले ठूलो मन गरेर घरभाडा छुट दिनुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका महासचिव जगदीशप्रसाद अधिकारीले घरभाडा छुटका विषयमा राज्यले नै एउटा मापदण्ड तोकिदिए सहज हुने धारणा व्यक्त गरे ।

घरभाडा छुट दिने घरधनीलाई पोखरामा सम्मान गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का समयमा घरभाडा छुट दिने घरधनी लालबहादुर गुरुङलाई नेपाल घरभाडा सरोकार समितिले विहीबार सम्मान गरेको हो । कार्यक्रममा घरधनी गुरुङलाई दोषल्ला ओढाउनुका साथै फुलको बुके दिएर सम्मान गरिएको हो । सम्मानित गुरुङले पृथ्वीचोकमा रहेको घरमा रहेका होटल, रेष्टुरेण्ट तथा पसलहरुलाई चैत र बैशाख महिनाको पूर्ण रुपमा घरभाडा छुट दिएका छन् । यो दुई महिनामा उनले ४ लाख २५ हजार बराबरको घरभाडा छुट दिएको नेपाल घरभाडा सरोकार समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए । उनले संक्रमण जारी रहेर व्यवसाय सञ्चालन नहुने स्थितिसम्म घरभाडा छुटलाई जारी राख्ने बताएको जानकारी दिए ।

You might also like

Comments are closed.