ग्लोबल आईएमई बैंकलाई दोस्रो पटक लगातार ग्लोबल फाइनान्सको “बेस्ट बैंक अवार्ड”

काठमाडौं ।  ग्लोबल आईएमई बैंक लिमिटेडले प्रतिष्ठित “बेस्ट बैंक अवार्ड २०२५” फेरि पनि जित्न सफल भएको छ । ग्लोबल फाइनान्स म्यागजिनद्वारा प्रदान गरिएको यो पुरस्कार दोस्रो पटक लगातार प्राप्त गर्दै बैंकले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सफलतालाई थप प्रगाढ बनाएको छ ।

यस लगातार उपलब्धिले बैंकको विश्वसनीयता, स्रोत परिचालन क्षमता, वित्तीय पहुँच, रणनीतिक साझेदारी, ग्राहक केन्द्रित सेवा नवप्रवर्तन, तथा उच्च क्रेडिट रेटिङलाई झल्काउँछ ।  जसका आधारमा बैंकलाई सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंकको रूपमा मान्यता दिइएको हो।

यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले भने, “यो पुरस्कारले हामीलाई अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा दिएको छ।” उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकायहरू, शेयरधनी, कर्मचारी तथा ग्राहकहरूलाई निरन्तरको समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गरे।

ग्लोबल फाइनान्सले अफ्रिका, एशिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिमी युरोपका उत्कृष्ट बैंकहरूलाई समेत सम्मानित गरेको छ।

ग्लोबल आईएमई बैंक यो अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक बनेको छ, जसले नेपालको बैंकिङ क्षेत्रलाई विश्व बजारमा स्थापित गरेको छ।

सन् २०२५ को संस्करणमा ग्लोबल फाइनान्सले एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इण्डिया (भारत), चाइना कन्स्ट्रक्सन बैंक (चीन), यूओबी मलेशिया (मलेसिया), सिटी बैंक (बंगलादेश), एसएमबीसी (जापान) लगायतका संस्थाहरूलाई पनि सम्मान गरेको छ।

ग्राहकका आवश्यकता अनुसार समयसापेक्ष र नविनतम सेवा ल्याउन ग्लोबल आईएमई बैंक निरन्तर सक्रिय छ। यस नयाँ सम्मानले बैंकलाई आगामी दिनमा अझ सृजनात्मक र उत्कृष्ट सेवा विकास गर्न थप हौसला दिने अपेक्षा गरिएको छ।

यसअघि पनि ग्लोबल आईएमई बैंकले “बैंक अफ दी इयर २०१४”, “बेस्ट इन्टरनेट बैंक २०१६”, “बेस्ट बैंक नेपाल (२०२४ र २०२५)”, “बेस्ट बैंक इन ईएसजी नेपाल २०२४”, “बेस्ट एम्प्लोयर” लगायतका थुप्रै प्रतिष्ठित पुरस्कार जितिसकेको छ।

नेपालका सबै ७७ जिल्लामा उपस्थिति भएको पहिलो निजी क्षेत्रको वाणिज्य बैंकको रूपमा, ग्लोबल आईएमई बैंकका हाल ३५२ शाखा, ३८५ एटीएम, १५५ शाखारहित बैंकिङ केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयहरू सञ्चालनमा छन्। बैंकले देशभर १,००० भन्दा बढी स्थानबाट सेवा दिँदै आएको छ।

घरेलु बैंकिङ सेवासँगै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

यो नयाँ अन्तर्राष्ट्रिय सम्मानले ग्लोबल आईएमई बैंकलाई नेपालको बैंकिङ क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय वित्तीय परिदृश्यमा समेत एक प्रमुख बैंकका रूपमा थप स्थापित गरेको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.