काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी कात्तिक २६ गते (बुधबार) काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १९औं वार्षिक साधारणसभा गर्ने भएको छ ।
बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, बैंकको प्रबन्धपत्र वा नियमावलीमा व्यवसायिक उद्देश्यहरू थप गर्ने र नियमनकारी निकायबाट सुझाव वा संशोधनका निर्देशन आएमा सोही अनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि तय गरिएको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, कात्तिक १३ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन र सभाबाट पारित लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments are closed.