काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै “नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग” स्थापना गरेको छ । बैंकले विदेशमा रहेका नेपालीलाई समर्पित र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त विभाग सञ्चालनमा ल्याएको हो ।
बिहीबार आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक सुरुवात गरेका हुन् । नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विदेशमा रहेका ग्राहकलाई एकद्वार प्रणालीमार्फत सेवा दिने जनाएको छ ।
यसबाट विदेशमा रहेका नेपालीहरूले बैंक खाता खोल्ने, कर्जा लिने, ट्रान्जेक्सन बैंकिङ, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमार्फत सेवा उपलब्ध गराउने जनाएको छ भने भविष्यमा २४ सै घण्टा सेवा दिने लक्ष्य पनि राखिएको छ ।
विभागको उद्घाटन गर्दै अध्यक्ष ढकालले विदेशमा रहेका नेपालीहरू नेपालको विकासका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै यस सेवाले उनीहरूलाई मातृभूमिसँग थप नजिक बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी ले पनि नयाँ विभागले विदेशमा रहेका नेपालीलाई नेपालमै लगानी गर्न तथा वित्तीय सेवामा पहुँच बढाउन सहयोग पुग्ने बताए ।
सातै प्रदेश र ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको बैंकले हाल ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा र विदेशका प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । साथै बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई लगायतका देशबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ ।



Comments are closed.