ग्लोबल आइएमई बैंकको वार्षिक नाफा १.१०% वृद्धि

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१०% बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १३ करोड रुपैयाँभन्दा ७ करोड रुपैयाँ बढी हो । इम्पेरमेन्ट चार्ज वृद्धि भई ३ अर्ब ६१ करोडबाट ४ अर्ब ३० करोड रुपैयाँ पुगेपछि नाफामा दबाब परेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८५% घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.१२% र कुल सञ्चालन आम्दानी ३.०१% बढेको छ। सञ्चालन मुनाफा भने २.७५% घटेको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। असार मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य–आम्दानी अनुपात १५.९५ गुणा रहेको छ ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। सो अवधिमा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ ।

You might also like

Comments are closed.