दमौली । नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गरेका छन् । केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ आइपुगेका हुन् ।
बाख्रा फार्म अवलोकनपछि राजदूत गोडरले आलेको बाख्रापालन व्यवसायबाट आफू प्रभावित भएको बताए । युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन् भन्नेबारेमा प्रत्यक्ष अवलोकन गर्न पाएको बताउँदै उनले भने, “एउटा युवकले गरेको बाख्रापालनले मलाई मोहित बनायो ।”
उनले कृषि पेशालाई रहर मात्र नभई व्यावसायिक बनाउनुपर्ने सुझाव दिए । “कृषि रहर होइन, यो व्यवसाय हो, एउटा बाटो पनि हो”, उनले भने । कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै परिश्रमी भएको राजदूत गोडरको भनाइ थियो ।
कृषक आलेले बाख्रा फार्ममा राजदूत आउँदा आफू एकदमै उत्साहित भएको बताए । “बाख्रापालन शुरु गर्दा कुनै दिन राजदूत आएर गोठको अवलोकन गर्नुहुन्छ भन्ने कल्पनासमेत गरेको थिइनँ”, उनले भने, “राजदूतको आगमनले मलाई हौसला मिलेको छ ।” चार वर्ष अगाडि साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर आएपछि उहाँले बाख्रापालनलाई व्यावसायिकरूपमा अगाडि बढाएका छन् ।
पाथर्दीका ६० घरधुरीले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषक वार्षिक रु डेढ लाखदेखि २० लाखसम्म आम्दानी गर्न सफल छन् । पाथर्दी गाउँबाट विसं २०७५ चैत १० गते मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ शुभारम्भ भएको थियो । स्थानीयवासीले दुई वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छन् ।





Comments are closed.