‘निजी क्षेत्र राजश्वका लागि मात्रै प्रयोग हुनु हुँदैन’ : अध्यक्ष कार्कीसँगको संवाद

गोकर्ण कार्की, अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ

पोखरामा स्थापित संघसंस्था मध्ये पुरानो बिरासत बोकेका संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । संघको पछिल्लो अध्यक्षको जिम्मेवारीमा गोकर्ण कार्की छन् । हालै अध्यक्षमा निर्वाचित भएर कार्यकाल सम्हालेका अध्यक्ष कार्कीसँग समसामयिक विषयमा आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानी :

हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनलाई कसरी समिक्षा गर्नुहुन्छ ?

म अध्यक्षमा निर्वाचित भएर काम सुरु गरेको धेरै लामो समय भएको छैन । निर्वाचन प्रजातान्त्रिक प्रक्रिया मात्र हो । परिणाम आइसकेपछि एक आपसमा फुटरे होइन जुटेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । पोखरेली उद्योगी तथा व्यवसायीको पक्षमा काम गर्न सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन । म सबै साथीहरुलाई समेटेर अगाडि बढिरहेको छु र बढ्नेछु । साथै सबै साथीहरुलाई सकारात्मक भूमिका निर्वाह गर्न पनि म आग्रह गर्दछु । मलाई अध्यक्षमा निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दछु ।

अबको कार्ययोजना के बनाउनुभएको छ ?

पोखरा उद्योग वाणिज्य संघमा विभिन्न मिम्मेवारीमा रहेर काम गरेको अनुभव मसँग छ । हाम्रो सचिवालयलाई चुस्त र दुरुस्त बनाउनु आवश्यक छ । सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्न लाग्नुपर्छ । बिगतमा जसरी हामी अगाडि बढिरहेका थियौं अब त्यतिले मात्र पुग्छ भन्ने मलाई लाग्दैन । पोखराको समग्र विकासमा योगदान पुर्याउने र उद्योगी व्यवसायीहरुको हकहित हुने गरी काम गर्नेछौं ।

अध्यक्ष निर्वाचित भइसकेपछि संघको अग्रसरतामा धेरै कार्यक्रमहरु भइरहेका छन् । यो सक्रियता जारी रहन्छ ?

सबै वस्तुगत संघ संगठनका अध्यक्षसँग छलफल गरेर उहाँहरुका समस्या पहिचान गरेका छौं । ती समस्या समाधानका लागि लागेका छौं । कुन निकायले समस्या समाधान गर्ने हो त्यहाँसँग लविङ गरिरहेका छौं । नीति, नियम संशोधन तथा नयाँ नीति नियम बनाउन सहजीकरण गर्छौं र सम्वन्धित निकायमा पहल गर्छौं । समसायिक विषयहरुमा छलफल तथा बहस लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यस्ता कार्यक्रम तथा गतिविधि निरन्तर रहनेछ । संघको सक्रियता आगामी दिनमा अझै बढ्नेछ ।

निजी क्षेत्रले आर्थिक मन्दीको असर भोगिरहेको छ । आगामी दिनमा उत्साह थपिएला ?

भूकम्प, नाकावन्दी, कोरोना महामारीको समयमा उद्योग व्यवसायमा धेरै असर पर्यो । व्यवसायमा सुस्तता छायो । आर्थिक गतिविधि चलायमान हुन सकेन । आर्थिक क्षेत्रमा शिथिलता छायो । अब उद्योग व्यवसाय थप चलायमान बनाउनतर्फ हामी लाग्नुपर्छ । केही न केही उदाहरणीय काम गरेर उद्योगी व्यवसायीमा उत्साह बढाउन हामी पनि लाग्नेछौं । सरकार पनि जिम्मेवार भएर लाग्न आवश्यक छ । आशा गरौं आगामी दिन सकारात्मक हुनेछन् ।

निजी क्षेत्रप्रति राज्यको भूमिका कस्तो रहनुपर्ला ?

लगानीमैत्री वातावरण सृजना गर्न सम्वन्धित निकायलाई झक्झकाएका छौं । उद्योग खोलेर मात्र हुँदैन त्यसलाई संचालन गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्छ । लगानीको सुरक्षाका लागि सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्छ । निजी क्षेत्र राजश्वका लागि मात्रै प्रयोग हुनु हुँदैन । उत्पादनको बजारीकरण तथा प्रवर्द्धनका लागि सहजीकरण गरिदिनुपर्छ । बजारमा उत्साह कायम गराउन सक्नुपर्छ ।

पर्यटनका सन्दर्भमा संघको भूमिका कस्तो रहन्छ ?

पोखरा पर्यटकीय राजधानी घोषणा भइसहेको छ । सन् २०२५ का लागि पोखरा भ्रमण वर्ष पनि घोषणा हुँदैछ । नेपालको आर्थिक क्षेत्रमा पोखराको पर्यटनको योगदान महत्वपूर्ण छ । यहाँको पर्यटन विकासमा संघको सक्रियता सधैं रहन्छ । पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुसँग सहकार्य गरी हामी अगाडि बढ्नेछौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ । यसका लागि पोखरेली तथा सरकारी निकायले विशेष पहल गर्न आवश्यक छ । विदेशी पर्यटकलाई पोखरा तथा आसपासका उत्पादन बिक्री गर्नुपर्छ । गुणस्तरीय पर्यटनको विकास गर्दै अगाडि बढ्नुपर्छ ।

lcci
You might also like

Comments are closed.