निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१’ गर्दैछ । यसै सन्दर्भमा केन्द्रित रहेर संघका अध्यक्ष गोकर्ण कार्कीसँग गरिएको कुराकानीः
मेलाको उद्देश्य के हो ?
हाम्रो मुख्य उद्देश्य भनेको देशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, र पर्यटन प्रवद्र्धन गर्नु नै हो । मेला र महोत्सवहरूले उद्योग र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै नवप्रवर्तन र स्थानीय उत्पादनलाई बजार विस्तार गर्न सहयोग पु¥याउँछन् । आत्मनिर्भर अर्थतन्त्र र समृद्ध समाज निर्माणमा संघद्वारा आयोजित मेलाले योगदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
मेलाको प्रमुख आकर्षण के–के रहेछन् ।
हामीले बिगतमा हुने मेलाको शैलीलाई परिवर्तन गरेका छौं । उद्योग र व्यवसायको प्रवद्र्धन हाम्रो मुख्य प्राथमिकतामा परेको छ । यसपटकका मुख्य आकर्षणमा १२ औं क्यान इन्फोटेक र चौथो मोवाइल एक्स्पो समावेश छन् । सूचना प्रविधिमा नयाँ आविष्कार, एआई प्रविधि, उन्नत सीसीटीभी, सफ्टवेयर निर्माण र मोबाइल एक्सचेन्ज अफरहरूसँगै ५०% सम्म छुटका कार्यक्रम राखिएका छन् । सांस्कृतिक कार्यक्रम, महिला उद्यमशीलता प्रवद्र्धन, सीप सिकाउने सत्र र विभिन्न ‘टक सो’ समेत मेलाको विशेषता हुन् ।
मेलाको व्यवस्थापन कसरी गर्नुभएको छ ?
मेला सफल बनाउनका लागि संघको कार्यसमिति खटिएको छ । हामीसँग सहकार्य गर्ने क्यान महासंघ कास्की, मोबाइल वितरक संघ, पोखरा ओद्योगिक क्षेत्र उद्योग संघ लगायतका साथीहरुले पनि मेला सफल बनाउनका लागि सक्रियताका साथ काम गरिरहनुभएको छ । ५०१ सदस्यीय मूल आयोजक समिति, २७ वटा उपसमितिहरू गठन भएका छन् ।
मेलामा सहभागी हुनका लागि टिकट शुल्क कति छ ?
अवलोकनकर्ताहरूका लागि प्रवेश शुल्क रु ५० तोकिएको छ । तर, विद्यार्थी, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू लगायतलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
मेलाको इतिहास र महत्वबारे के भन्नुहुन्छ ?
पोखरा उद्योग वाणिज्य संघले २०४२ सालदेखि व्यवस्थित मेलाको परम्परा सुरु गरेको हो । सशस्त्र द्वन्द्वका समयमा पनि मेलाको निरन्तरता रहनु हाम्रो प्रतिबद्धताको प्रतीक हो । आर्थिक गतिविधि बढाउनका लागि मेला सहयोगी बन्दै आइरहेको छ ।
Comments are closed.