काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १२औं वार्षिक साधारण सभा आगामी वैशाख १९ गते, शनिबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना हुने भएको छ । महासंघको हालै बसेको बैठकले साधारणसभाको मिति घोषणा गरेको हो ।
महासंघको बन्द सत्र दिउँसो १२ः३० बजे हुनेछ । बन्द सत्रमा आर्थिक वर्ष २०८१/८२ को सांगठनिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी पारित गरिने महासंघले जनाएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका सांगठनिक निर्णयहरू हुनेछन् ।
तालिम तथा बिटुबि सत्र पनि समावेशन गरिएको छ । व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्नका लागि डिजिटल मार्केटिङ, हीरा तथा रत्नका प्राविधिक पक्षहरू र ज्वेलरी एकाउन्टिङ सम्बन्धी विशेष तालिम सञ्चालन गरिनेछ अध्यक्ष किसान सुनारले जानकारी दिए । उत्पादक, निर्यातकर्ता र वित्तीय संस्थाहरूबीच व्यावसायिक सम्बन्ध विस्तारका लागि ‘बिटुबि म्याचिङ’ कार्यक्रम पनि हुनेछ ।
साधारण सभाको औपचारिक उद्घाटन समारोह सोही दिन साँझ ४ बजे सम्पन्न हुनेछ । साधारण सभामा सहभागी हुनका लागि महासंघले आफ्ना सदस्य संघहरूलाई आह्वान गरेको छ । प्रत्येक सदस्य संघले कम्तीमा ५ जना प्रतिनिधि पठाउनुपर्नेछ । २० जनाभन्दा बढी सदस्य भएका संघको हकमा प्रत्येक थप २० सदस्य बराबर १ जना प्रतिनिधि थप गर्न पाइने महासंघका महासचिव निरबहादुर विश्वकर्मा (विमल)ले जानकारी दिए ।
साधारण सभाले सुनचाँदी र आभूषण क्षेत्रको नीतिगत सुधार र व्यावसायिक दक्षता वृद्धिका लागि दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ ।






Comments are closed.