काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी कारोबारलाई नियमन गर्ने कुनै पनि सरकारी निकाय नभएको बताएका छन् ।
बुधबार सुन तथा सुनका गरगहनामा लगाइएको कर तथा दस्तुर र यसले उपभोक्तालाई पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष महर्जनले यस्तो बताएका हुन् । उनले करिब नौ अर्ब रुपैयाँ वार्षिक राजश्व बुझाउने व्यवसाय नियम कानुनको दायराबाट बाहिर रहनु दुःखको कुरा भएको स्पष्ट पारे ।
अध्यक्ष महर्जनले सुन चाँचीको कारोबार सनातनदेखि चलिरहेको र अहिले पनि सनातनी परम्परा र रैथाने व्यवसायको रूपमा चलिरहेको दाबी गरे । वर्तमान अवस्थामा यो व्यवसायमा केही वेथितिहरु निस्कन थालेसँगै व्यवसाय नै धराशायी हुन थालेको उनको भनाइ थियो ।
उनले भने, ‘२०६२ देखि हामीले सुनचाँदी व्यवसायका विषयमा गहन रूपमा काम गरिरहेका छौँ । हाम्रो मुलुकमा हरेक कुराहरूमा नियामक निकायहरू छन् र नियम कानुन छ । एउटै मात्र नियम कानुन नभएको र नियम कानुनको दायराबाट बाहिर भएको व्यवसाय त्यो पनि अत्यन्त ठुलो र अर्बौँको कारोबार झण्डै झन्डै नौ अर्ब रुपैयाँ त राजश्व नै बुझाउने कारोबार भनेको सुनचाँदी र गरगहनाको कारोबार हो । यति ठुलो कारोबारलाई नियमन गर्ने कुनै निकायपनि छैन र नियम पनि छैन । अहिले पनि सनातनदेखि नेपालको हकमा कुरा गर्दा यो त्यत्तिकै चलिरहेको छ । सनातनी ढंगले नै चलिरहेको छ, नियम कानुन केही छैन । यो व्यवसाय आआफ्नै मर्यादाले, आआफ्नै कुल परम्पराको हिसाबले र रैथाने व्यवसायको रूपमा चलिरहेको छ ।’
‘अहिले केही वर्षदेखि यो व्यवसायमा बेथितिहरू निस्किन थालेपछि व्यवसाय नै बेथिति हुन थालेपछि हामीले २०६२ सालदेखि यो विषयमा गम्भीर ध्यान दिएर काम गरिरहेका छौँ । २०६९ मै हामीले नियमावली बनाएर हाम्रो संस्थाको तर्फबाट तत्कालीन आपूर्ति सचिवलाई दिएका थियौँ । त्यसपछि धेरै पटक व्यावसायिक क्षेत्रबाट २०७१ मा उहाँहरूले दिनुभयो । २०७६ मा कार्यदल नै गठन भयो, सरकारी कार्यदल पनि धेरै बन्यो, सरकारले यसमा धेरै पटक चासो पनि राख्यो । तर कानुन बनेन, यसमा नियम कानुन नबन्नुको कारण सरकारलाई नै थाहा होला ।’
उनले सुनचाँदी व्यवसायमा सरकारले धेरै चासो राखे पनि यसलाई नियमन गर्ने विषयमा कानुन नबन्नुको कारण भने सरकारलाई नै जानकारी भएको स्पष्ट पारे ।
Comments are closed.