पोखरा । पोखरा महानगरपालिकाद्वारा घोषित ‘पोखरा भ्रमण वर्ष २०२५’ को सफल कार्यान्वयनका लागि गठित कार्यसम्पादन समितिको संयोजकमा पर्यटन व्यवसायी गोपी बहादुर भट्टराई नियुक्त भएका छन् । उनी पोखरा पर्यटन परिषद् तथा रेवान पोखराको पूर्व अध्यक्ष हुन् । पर्यटन क्षेत्रमा लामो समयको अनुभव संगालेका भट्टराईलाई पोखरा महानगरपालिकाले कार्यपालिका बैठकले संयोजक चयन गरेको हो ।
त्यस्तै समितिको सहसंयोजक दामोदर भक्त थापा नियुक्त भएका छन् । उनी पनि पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । महानगरपालिकाले १९ सदस्यीय समिति गठन गरेको छ । भ्रमण वर्षको मूल संयोजकमा भने महानगरपालिकाका मेयर धनराज आचार्य नै छन् ।
कार्यसम्पादन समितिले पोखराको पर्यटन प्रवर्द्धनलाई अझ गतिशील बनाउँदै ‘पर्यटनको राजधानी’ पोखराको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको मेयर आचार्यले बताए ।
संयोजक चयन भएपछि प्रतिक्रिया दिदै भट्टराईले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धनको अभियानमा आफूहरुले सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
पर्यटनको राजधानीमा भ्रमण वर्षमा २० लाख पर्यटन भित्र्याउने लक्ष्य
पोखरा महानगरपालिकाले फागुन ३ गते पोखरामा एक कार्यक्रमबीच पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दैछ । २०२५ मा २० लाख पर्यटक पोखरा भित्र्याउन महत्वकांक्षी योजनासहित भ्रमण वर्षको घोषणा हुँदैछ ।
निजी क्षेत्रको साथमा पर्यटन प्रवर्द्धन अभियान चलाउँदै पर्यटक भित्र्याउने अभियानमा महानगरपालिका लागेको छ । ‘सार्वजनिक–निजी साझेदारी (पब्लिक–प्राइभेट पार्टनरशिप) मार्फत समन्वयकारी भूमिका खेल्दै सबै पक्षहरूको साथ र सहयोगबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यमा हामी अगाडि बढ्नेछौं,’ संयोजक भट्टराईले भने ।
महानगरले सर्टटर्म र लङटर्म योजनाहरू निर्माण गर्दै भ्रमण वर्ष मनाउने नीति लिएको छ । यसका लागि मास टुरिजम र क्वालिटी टुरिजम दुवैलाई प्रवद्र्धन गरिने जनाइएको छ ।
‘भ्रमण वर्ष सफल बनाउन विभिन्न निकायबीच समन्वयकारी भूमिका अनिवार्य छ,’ संयोजक भट्टराईले भने, ‘सरकारी, निजी क्षेत्र तथा स्थानीय समुदायको सहकार्य आवश्यक पर्दछ । पर्यटनको विविध पक्षलाई समेट्दै सबैलाई साथमा लिएर कार्यक्रमहरू अघि बढाउँछौं ।’
Comments are closed.