पर्यटन समृद्धिका लागि ‘सिल्भर ट्रायाङ्गल’ : प्रतिस्पर्धा होइन सहकार्य

गोपी भट्टराई, संयोजक, पोखरा भ्रमण वर्ष

नेपालको पर्यटन क्षेत्र आफैँमा विविधताको एउटा बलियो खानी हो । संसारकै सर्वोच्च हिमशृङखलादेखि विश्वशान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थलसम्म र दुर्लभ वन्यजन्तुदेखि जीवन्त संस्कृति र सम्पदासम्मको अनुपम उपहार हामीसँग छ । तर, आजको विश्व पर्यटन बजारले एकल गन्तव्य मात्र होइन, बरु एउटै यात्रामा बहुआयामिक अनुभव खोजिरहेको छ । यही विश्वव्यापी आवश्यकता र बदलिँदो चाहनालाई सम्बोधन गर्न हामीले एउटा नवप्रवर्तनकारी अवधारणा अगाडि सारेका छौँ, – ‘सिल्भर ट्रायाङ्गल’ (क्ष्खिभच त्चष्बलनभि) ।

प्रकृतिको अनुपम उपहार, साहसिक पर्यटनको केन्द्र तथा पर्यटनको राजधानी शहर पोखरा, विश्वका अर्बौं बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी र जैविक विविधता एवं थारु संस्कृतिको अद्वितीय सङ्गम भरतपुर (चितवन) लाई एउटै पर्यटन परिपथ (सर्किट) मा जोड्नु नै सिल्भर ट्रायाङ्गलको मूल दर्शन हो ।

आजको पर्यटन बजारमा एक्लाएक्लै दौडेर गन्तव्यमा पुग्न सकिँदैन । यो प्रतिस्पर्धाको होइन, सहकार्यको युग हो । पोखरा, लुम्बिनी र भरतपुर एकअर्काका प्रतिस्पर्धी होइनन्, बरु परिपूरक साझेदार हुन् । जब यी तीन गन्तव्यलाई एउटै सूत्रमा बाँधेर एउटै प्याकेजमा प्रस्तुत गरिन्छ, तब पर्यटकले नेपालमा प्रकृति, संस्कृति, अध्यात्म, वन्यजन्तु र विशिष्ट जीवनशैलीको पूर्ण अनुभूति एकैपटक पाउनेछन् ।

यस अवधारणाले केवल पर्यटक भित्र्याउने मात्र नभइ पर्यटकको नेपाल बसाइँ अवधि बढाउनेछ भन्नेमा हामी विश्वस्त छौं । पर्यटन खर्चमा वृद्धि गर्नेछ भने स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँदै क्षेत्रीय विकासलाई नयाँ गति दिनेछ । आर्थिक लाभलाई सोझै स्थानीय समुदायसम्म पु¥याउन पनि योगदान गर्नेछ ।

सिल्भर ट्रायाङ्गल अवधारणाले नेपालका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोगिताका लागि समेत योगदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । अहिले यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान र यात्रु आवागमन बढाउनु ठुलो चुनौती छ । यो संयुक्त सर्किटले पर्यटकको आवागमन र हवाई पहुँचलाई सहज बनाउँदै विमानस्थलहरूको दीर्घकालीन दिगोपन सुनिश्चित गर्नेछ ।

यसका साथै, नेपाल सरकारले आगामी वर्षलाई ‘राष्ट्रिय वेलनेस वर्ष’का रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा यो अभियान झन् सान्दर्भिक बनेको छ । लुम्बिनीको आध्यात्मिक शान्ति, पोखराको उपचारात्मक प्राकृतिक वातावरण (योग र ध्यान) र चितवनको प्रकृतिसँगको निकटतालाई फ्युजन गरेर नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटनको हब बनाउन सकिन्छ ।

यो अवधारणा केवल कागजमा सीमित नारा होइन । पोखरा भ्रमण वर्षको संयोजनमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच यसलाई कार्यान्वयन गर्न ऐतिहासिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । तीनै स्थानीय तहका प्रमुख तथा कार्यवाहक प्रमुखहरूद्वारा हस्ताक्षरित यस समझदारीले सिल्भर ट्रायाङ्गललाई व्यावहारिक धरातलमा उतारेको छ ।

तीनै स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना र बजेटमा ‘सिल्भर ट्रायाङ्गल’ अवधारणालाई अनिवार्य समावेश गर्नेछन् । यसको नेतृत्व र समन्वय प्रत्येक वर्ष पालैपालो (रोटेसन बेसिसमा) गरिनेछ । प्रत्येक वर्ष पालैपालो पर्यटन मेला तथा ‘ट्राभल मार्ट’ आयोजना गरिनेछ, जहाँ बीटूबी र जीटूजी बैठकहरू सञ्चालन हुनेछन् । तीनै सहर समेटेर संयुक्त ब्रोसर, भिडियो र डिजिटल सामग्री उत्पादन गरिनेछ । साथै, प्रत्येक सहरमा अन्य दुई सहरका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने डिजिटल सूचना बोर्डहरू स्थापना गरिनेछन् । संयुक्त लोगो, क्यालेन्डर र सहज अन्तरप्रदेशीय यातायात सञ्चालनका लागि निजी क्षेत्र र व्यवसायीहरूसँग सहकार्य गरिनेछ । होटल, ट्राभल एजेन्सी र स्थानीय समुदायबिच सांस्कृतिक तथा शैक्षिक आदानप्रदानका कार्यक्रम सञ्चालन गरिनेछ ।

पर्यटन कुनै एउटा सहर वा संस्थाको एकल प्रयासले मात्र सम्भव हुँदैन । यो त साझा प्रतिबद्धता, साझा दृष्टिकोण र साझा नेतृत्वबाट मात्र सफल हुने क्षेत्र हो । ‘पोखरा भ्रमण वर्ष’ले स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीचको साझेदारीको जुन बलियो आधार तयार गरेको छ, त्यसलाई अब सिल्भर ट्रायाङ्गलले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्नेछ ।

बुद्धको शान्ति, चितवनको प्रकृति र पोखराको सौन्दर्यलाई एउटै मालामा उनेर नेपाललाई विश्वकै आकर्षक गन्तव्य बनाउने हाम्रो यात्रा सुरु भइसकेको छ । अबको समय गन्तव्यहरूलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई सक्रिय बनाउने र नेपालको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने हो । यस महाअभियानमा तीनै तहका सरकार, नेपाल पर्यटन बोर्ड, विकास साझेदार, निजी क्षेत्र र आम सञ्चारकर्मीहरूको सक्रिय हातेमालो र निरन्तर सहयोगको अपेक्षा गर्दछु ।

(पोखरामा आयोजित सिल्भर ट्याङ्गल मिट कार्यक्रममा पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईद्वारा व्यक्त विचार)

You might also like

Comments are closed.