‘सडक महोत्सव ब्राण्डका रुपमा स्थापित भएको छ’ पिटिसी अध्यक्ष भट्टराईसँगको अन्तर्वार्ता

गोपीबहादुर भट्टराई, अध्यक्ष, पोखरा पर्यटन परिषद

पोखराको लेकसाइडमा आजबाट २३औं संस्करणको सडक महोत्सव सुरु भएको छ । पोखरामा आयोजित सडक महोत्सवले पर्यटन क्षेत्रमा पार्ने प्रभाव लगायत विविध विषयमा केन्द्रित रहेर पोखरा पर्यटन परिषदका अध्यक्ष एवं रेवानका पूर्र्व अध्यक्ष गोपीबहादुर भट्टराईसँग आर्थिक आवाजका लागि रविन अवालले गरेको कुराकानीः

पर्यटन क्षेत्रमा सडक महोत्सवको प्रभाव कस्तो रहँदै आएको छ ?
सडक महोत्सव विगत २२ वर्षदेखि संचालन भइरहेको छ । एउटा सानो कम्पाउन्ड एरियाबाट सुरु भएको महोत्सव अहिले लेकसाइडको ३ किलो मिटर क्षेत्रमा हुने गरेको छ । पहिला क्रिश्मस र न्यू इयरमा आन्तरिक होस् वा बाह्य पर्यटकहरु रमाइलो गर्न जाडो मौसममा गोवा, थाइल्याण्ड लगायत विभिन्न ठाउँहरुमा जाने भएकोले नेपालका पर्यटकीय गन्तव्यहरुमा अफसिजन लाग्दथ्यो । त्यसै कारण यो समयलाई अफ सिजनको रुपमा लिइन्थ्यो तर पछिल्लो समयमा हामी किन विदेश जाने नेपालमा नै यस्ता कार्यक्रम (महोत्सव) गर्न सकिन्छ भनेर यसलाई परिस्कृत पनि गर्यौं । पछिल्ला वर्षहरुमा सडक महोत्सवका कारण पोखरा लगायत यस क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव परेको हामीले महसुस गरेका छौं ।

सडक महोत्सवलाई सफल बनाउन सरकारी तथा निजी संघसंस्थाको भुमिका कस्तो छ ?
पोखरा सडक महोत्सव अहिले ब्राण्डका रुपमा स्थापित भइसकेको छ । एउटा मेगा फेस्टिवलको रुपमा यसलाई चिनिन्छ । रेष्टुरेण्ट एण्ड बार एसोशिएसनले महोत्सव आयोजना गरे पनि सबैको साथ र सहयोग यसमा रहन्छ । यसलाई सबैले स्वामित्वकरण गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि यसलाई ओनरसिप दिएका छन् । नेपाल टुरिजम बोर्डले पनि यसलार्ई क्यालेण्डर इयरमा राखेको छ भने पोखरा पर्यटन परिषद् छाता संस्थाले पनि एउटा आयोजकको भुमिका खेल्दै यसलाई अझ कसरी ब्राण्डिङ गर्ने, कसरी राम्रो गर्ने र अझ कसरी व्यवस्थापन गर्ने भनेर लागि परेको छ । स्थानीय आमा समूह, युवा क्लब लगायतका संस्थाले पनि हामीलाई सहयोग गरिरहेको अवस्था छ ।

jutta mela

सडक महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
सडक महोत्सवको मुख्य उद्देश्य नै नेपालका विभिन्न सांस्कृतिक कार्यक्रमहरु, झाँकी प्रर्दशन गर्ने, नेपालमा बनेका विभिन्न हस्तकलाका सामग्रीहरु बजारीकरण कसरी गर्न सकिन्छ र प्रोडक्टहरुलाई कसरी डिस्प्ले गर्न सकिन्छ भन्ने कुरा हो । खानाको कुरा होस् वा अरु व्यवसायका हिसाबले होस् र सबभन्दा ठुलो कुरा सडक महोत्सवमा नेपालमा लुकेका विभिन्न मौलिक, सांस्कृतिक कार्यक्रमहरु खानाको स्वादसँगै हेर्न सकिन्छ । हरेक वर्ष यसलाई परिस्कृत र व्यवस्थित बनाउन हामी लागिरहेका छौंैँ ।

कोरोनाको त्रास कायम नै छ । महोत्सवलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
कोरोनाको विचमा पनि महोत्सवलाई निरन्तरता दिनुपर्छ भनेर महोत्सव आयोजना गरेका छौं । स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नेछौं । विगतमा ५ दिन हुने महोत्सव यस वर्ष ३ दिन मात्र गर्दैछौँ । हामी धेरैले भ्याक्सिन पनि लगाइसकेका छौँ । अब विस्तारै व्यवसाय पनि चलायमान गर्नुपर्छ । केहि न केहि गर्नुपर्छ भनेर रेवानले विश्लेषण गर्यो त्यसलाई पोखरा पर्यटन परिषद्ले पनि साथ दिएर अझै व्यवस्थित तथा सुदृढ बनाउदैं स्वास्थ्यका मापदण्डहरु पालना गरेर यहि पुष १५, १६ र १७ गते महोत्सव हुँदैछ ।

पोखरा सडक महोत्सवले पक्कै पनि आन्तरिक होस् अथवा भविष्यमा बाहिरको पर्यटकहरुलाई ठुलो प्रचार–प्रसार गर्ने छ । हामी अहिले यो विषम परिस्थितिमा अगाडि बढ्नुको विकल्प छैन । स्थानीय सरकार र सुरक्षा निकायसँग र विभिन्न व्यवसायीहरुसँग समन्वय गरेर हामी यो सडक महोत्सवको संघारमा जुटिरहेका छौँ । सवैको साथ र सहयोग पाइरहेका छौं ।

व्यवसायमा के कस्ता चुनौती आएका छन् ?
कोरोनाका कारण पर्यटन व्यवसायमा धेरै चुनौती आए । लामो समयमसम्म व्यवसाय संचालन गर्ने वातावरण बनेन । अहिले पनि डेल्टा र ओमिक्रोन जस्ता भाइरसले सबैलाई त्रसित बनाएको छ । यो न्यु इयर र क्रिष्मसमा धेरै बुकिङहरु थिए तर क्यान्सिल भए । यद्यपि, हाम्रो मित्र राष्ट्र भारतबाट धेरै पर्यटकहरु आएको देख्न सकिन्छ । आन्तरिक पर्यटकहरु पनि घुम्ने चलन एकदमै बढ्दो छ । त्यस कारण पनि केही आशा भने लागेको छ । सुरक्षित भएर व्यवसाय संचालन गर्नुको विकल्प छैन । धेरै चुनौतीहरुका बावजुत हामीले महोत्सव आयोजना गरेका छौं । नेपालमा लुकेका मौलिकताहरुलाई यस महोत्सवमा देखाउने सोच बनाइका छौँ ।

You might also like

Comments are closed.