काठमाडौं । नेपाल उद्योग परिसंघ ले परराष्ट्रमन्त्री आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गरी वैदेशिक लगानी आकर्षित गर्ने, कानुनी सुधार गर्ने र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने विषयमा गहन छलफल गरेको छ । यी भेटघाटले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने साझा प्रतिबद्धता देखाएको छ ।
परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई १ खर्ब डलरसम्म पुर्याउने दीर्घकालीन लक्ष्य प्राप्त गर्नका लागि वैदेशिक लगानीको भूमिका अपरिहार्य रहेको बताएका छन् । उनले आर्थिक कूटनीतिलाई सक्रिय बनाउँदै वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै लगानीमैत्री वातावरणका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारहरू भइरहेको जानकारी दिइन्। यसका साथै, स्वदेशी उत्पादनको उपभोगलाई अनिवार्य बनाउने तयारी भइरहेको पनि उनले खुलाइन् ।
मुख्यसचिव एकनारायण अर्यालले सरकार उद्योग र निजी क्षेत्रप्रति सकारात्मक रहेको र आर्थिक विकासमा उनीहरूको साझेदारी आवश्यक रहेको बताए। उनले हाल करिब १२० वटा कानुन संशोधन प्रक्रियामा रहेको जानकारी दिँदै, स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्न सार्वजनिक निकायहरूमा नयाँ निर्देशिका कार्यान्वयनमा आउन लागेको जानकारी गराए ।
यी दुवै महत्त्वपूर्ण बैठकहरूले सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउँदै आगामी दशकमा नेपालको आर्थिक वृद्धिमा गति ल्याउने साझा उद्देश्यलाई प्रकाश पारेका छन् ।
Comments are closed.