सगरमाथा आरोही डा. भुसाललाई सम्मान

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा प्रिती भुसाललाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष तथा इञ्जीनियर दीपक कुँवरले वैशाख २९ गते बिहान सगरमाथाको सफल आरोहण गरेकी उनलाई सम्मान गरेका हुन् । डा भुसाल सोही अस्पतालमा कार्यरत छिन् ।

अध्यक्ष कुँवर र कार्यकारी निर्देशक डा विनोद बिजुक्छेले नेपाली महिला चिकित्सकका तर्फबाट सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरी ग्राण्डी अस्पतालको समेत नाम राख्न सफल हुनुभएको भन्दै बधाई दिए । आरोही डा. भुसालले कोभिड–१९ को लडाइँविरुद्ध अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालकको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको बताइन् ।

यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नाको विकल्प नरहेको सन्देश दिन र हिमालयन क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश दिन पनि आफूले सगरमाथाको आरोहण गरेको उनको भनाइ थियोे ।

हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथाको सफल आरोहण गरेकी डा भुसालले सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको ६ हजार ११९ मिटर लोपुचे हिमालको सफल आरोहण गरेकी थिइन् । उनि सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक हुन् ।

You might also like

Comments are closed.