भर्चुअल प्लेटफर्म सिकाइको प्रभावकारी माध्यम

पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको आयोजनामा विशेष वेबिनार सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपालका १ सय भन्दा बढी क्याम्पसको सहभागीता थियो ।

विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोनाजन्य संक्रमणका कारण उच्च शिक्षा प्रदायक संस्थाहरूलाई पुगेको अपूरणीय क्षती र त्यसको सम्बन्धमा क्याम्पसले भर्चुअल प्लेटफर्ममार्फत् वेबिनार सञ्चालन गरेको हो ।

कोभिडकै कारण हाम्रा परम्परित रूपमा सञ्चालन हुँदै आएका शैक्षिक गतिविधिहरू पूर्णतः बन्द हुने अवस्थामा पुगी विश्वका करोडौं विद्यार्थीहरू शिक्षा प्राप्त गर्ने अवसरबाट बञ्चित भइरहेको सन्दर्भमा वैकल्पिक विधिबाट उच्च शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूलाई कसरी ज्ञानको क्षितिजसँग जोड्ने भन्ने विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । ।

उक्त कार्यशालामा विषम परिस्थतिमा उच्च शिक्षा प्रदायक संस्थाहरूले कस्ता खालका वैकल्पिक शैक्षिक गतिविधिहरू कुन कुन ढङ्गले सञ्चालन गरी ज्ञान प्राप्त गर्ने दिशामा राज्य तथा विश्वकै होनहार मस्तिष्कहरूलाई निरन्तर जोड्न सक्छन् भन्ने विषयमा बहस भएको थियो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा भारतको गुजरात विश्वविद्यालयका प्राध्यापक एवं भारतीय विश्वविद्यालय अनुदान आयोगका चिफ डाइरेक्टर डा. पी. एन गजारको उपस्थित थियो । डा गजारले अहिलेको विषम परिस्थिति विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक संस्थाका लागि भर्चुअल प्लेटफर्म निर्माण र त्यसको प्रभावकारी प्रयोग गर्नका लागि अहिले अत्यन्तै उपयुक्त अवसर भएको बताए । उनले भारत तथा नेपालजस्ता मुलुकले यस परिस्थतिबाट विश्वविद्यालयका नियमित काम कारबाहीहरू झनै प्रभावकारी रूपमा सम्पन्न गर्न सहज हुने बताए । भर्चुअल प्लेटफर्म निर्माणका लागि परम्परित पद्धतिमा अभ्यस्त भइसकेकालाई अलिक असहज र अप्ठेरो लागे पनि यस्तो खालको शिक्षणविधिले विद्यार्थी तथा प्राध्यापकहरूलाई वर्तमानको ज्ञानको भण्डारसँग प्रत्यक्ष जोड्ने हुँदा यसबाट विद्यार्थीले भैतिक कक्षामा सिक्न नसकेका ज्ञान र सीपहरू अत्यन्तै सहज र सरल तरिकाले सिक्ने अवधारणा उनले प्रस्तुत गरेका थिए ।

त्यस्तै अहिले विश्वव्यापी रूपमा ज्ञान लिने पद्धति भर्चुअल बन्न थालेको र यसले विद्यार्थी तथा प्राध्यापकहरूलाई आफ्नै घरमा बसेर अत्यन्तै सस्तो र सुलभ रूपमा ज्ञानको अथाह महासागर मानिने भर्चुअल संसारसँग साक्षात्कार गराएकाले हामीले दशौँ वर्षसम्म मेहेनत गरेर पनि प्राप्त गर्न नसकेको ज्ञान तथा सीप यस दुई वर्षको अवधिमा आर्जन गर्न सफल बनेकोमा खुशी व्यक्त गर्दै अबका दिनमा यस पद्धतिलाई निरन्तरता दिन र यस माध्यमलाई प्रभावकारी रूपमा उपयोग गर्ने दिशामा अघि बढ्न समेत उनले प्रेरणा दिए ।

भर्खरै विश्वविद्यालयबाट गुणस्तर प्रत्यानकृत गुप्तेश्वर क्याम्पसले आधिकारिक एपहरूको उपयोग गरी आफ्ना नियमित शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गरेको छ भन्ने सुन्न पाउँदा आफू हर्षित बनेको र यस विधिलाई निरन्तरता दिन समेत उनले सुझाब दिए । अहिले विकसित तथा पहुँच प्राप्त देशहरूले मात्र भर्चुअल प्लेटफर्म निर्माण गरी संस्थाका यावत् शैक्षिक क्रियाकलापहरू सञ्चालन गरी भौतिक कक्षाहरूलाई भर्चुअल कक्षामा रूपान्तरण गरेको र नेपालका उच्च शिक्षालयहरू पनि यसै दिशामा अग्रसर हुन थालेको कुरा जानकारी पाउँदा खुशी लागेको बताउँदै उनले विद्यार्थीका पठनपाठन, भर्ना, मूल्याङ्कन र परीक्षाजस्ता कार्य पनि यसै विधिबाट गर्नु पर्ने अपरिहार्यता रहेको उजागर गरे ।

यस विषम परिस्थितिमा ज्ञान लिनेदिने प्रकृयामा अन्य कुनै विकल्प नभएकाले विश्वव्यापी रूपमा प्रयोगमा आएका आधिकारिक एपहरूका माध्यमबाट संस्थाका यावत् गतिविधिहरूलाई सञ्चालन गर्नु पर्ने उनको धारणा थियो यस कार्यमा संस्थामा निहित आइक्युएसी विभागको महत्तम भूमिका हुने कुरामा उनको जोड थियो ।

हाल कोरोनाजन्य विषम परिस्थितिले नेपालका विद्यार्थीहरूले पढलेख गर्ने तथा केही सिक्ने र ज्ञानको संसारमा गतिशील बन्ने दिशामा अपूरणीय क्षती भोग्दै आएको कुरा व्यक्त गर्दै विश्वविद्यालय अनुदान आयोग क्यूएए डिभिजन निर्देशक डा ऋषिकेश पाण्डेयले यस क्षतीलाई न्यूनीकरण गर्न विश्वविद्यालयले देशशका हरेक उच्च शिक्षा प्रदायक संस्थाहरूलाई भर्चुअल प्लेटफार्म तयार गरी आफ्ना शैक्षिक गतिविधिहरू सञ्चालन गर्नका लागि बजेटको व्यवस्थापन समेत अनुदान आयोगले गरेको अवधारणा राखे ।
क्याम्पस प्रमुख धर्मराज बरालको स्वागत मन्तव्यबाट अगाडि बढाइएको सो कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष प्रा. डा. टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन तथा सहजीकरण क्याम्पसमा कार्यरत आइक्युएसी प्रमुख मोहन भण्डारीले गरेका थिए ।

नेपालका विश्वविद्याय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत तथा अन्य संस्थाहरूले यस परिस्थितिमा पनि आफूहरुलाई कुन रूपमा अब्बल प्रमाणित गर्नका लागि अधिक से अधिक छात्रछात्राहरूलाई शैक्षिक गतिविधिमा समायोजन गर्न तथा संस्थाका आन्तरिक गुणस्तरमा हुन थालेको क्षतीलाई न्यूनीकरण गर्न सक्छन् र यस दिशामा उच्च शिक्षालयमा शैक्षिक गुणस्तर कायम गर्न खट्ने गुणस्तर प्रत्यायन विभाग (आईक्युएसी) ले कुन ढङ्गले काम गर्नु पर्दछ एवं यस क्षेत्रमा उसको कस्तो भूमिका हुन्छ भन्ने विषयमा यसै क्षेत्रमा लामो अनुभव हासिल गरेका तथा यसै विषयमा विज्ञता प्राप्त गरेका डा। गजारसँग नेपालका १००भन्दा बढी क्याम्पसका पदाधिकारी तथा प्राध्यापकहरूलाई अभिमुखीकरण कार्यक्रममा विश्वव्यापी संकटका अवस्थामा पनि वैकल्पिक विधिबाट कसरी शैक्षिक गतिविधिहरू सञ्चालन हुन सक्छन् र संस्थाको गुणस्तर अभिवृद्धिमा हरेक क्युएए प्राप्त क्याम्पसका आइक्युएसी विभागको कस्तो भुमिका हुनुपर्छ भन्ने विषयमा गहन छलफल भएकोे थियो।

You might also like

Comments are closed.