‘संस्थाले गरेका गतिविधिका हिसाबले मेरो कार्यकाल स्वर्णीम रह्यो’

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित गेन्द्र लामाको संस्थामा तीन वर्ष कार्यकाल पूरा भएको छ । लामा आफ्नो कार्यकालमा प्याब्सकको इतिहासमै उत्कृष्ट काम गरेको बताउँछन् । उनकै शब्दमा गतिविधिका हिसाबले यो ‘स्वर्णकाल’ अवधि हो । कोरोना महामारी र संस्थामा अन्य सदस्यबाट पर्याप्त इफोर्ट नलगाउँदा अझै धेरै योजना कार्यान्वयनमा नआएको उनको भनाइ छ । प्रस्तुत छ, लामासँग गरिएको कुराकानीको सम्पादित अंश :

यहाँको कार्यकाल कस्तो रह्यो ?

२०७६ साल मंसिरबाट मैले अध्यक्षको जिम्मेवारी पाएको हुँ । कार्यकालको शुरुआतमै वृहत खालको फुटसल टुर्नामेन्ट आयोजना गरेका थियौं । एसईईदिने विद्यार्थीलाई लक्षित गरेर मोटिभेसनल कार्यक्रम, गुरु पुर्णिमाका कार्यक्रम, आधुनिक गीत प्रतियोगिता लगायतका धेरै कार्यक्रम गरेका छौं । तर मैले जिम्मेवारी पाएको वर्षको चैत महिनामा नै कोभिड महामारीका शिक्षा क्षेत्र ठप्प भइदियो । हाम्रो संस्थाले शैक्षिक संस्थासँग जोडिएर काम गर्ने संस्था भएको कारण चाहे जति काम गर्न सकिएन । तथापी यो अवस्थामा पनि हामीले गरेका कार्यक्रमबाट म सन्तुष्ट छु । हामीले यो समयमा विद्यार्थी, शिक्षक , सञ्चालक सबैलाई समेटेर काम गर्न सफल भयौं । हरेक प्रतिकुल परिस्थितिमा पनि हासिल गरिएको यो उपलब्धिलाई स्वर्णीम उपलब्धीको रूपमा लिन सकिन्छ ।

कोरोना महामारी त भयो नै यस बाहेकका पनि कस्ता चुनौती संस्थाले सामना गर्नुपर्यो ?

यसबीचमा मैले लक्ष्य अगाडि सारेको इन्टरनेशनल कल्चरल एक्स्चेन्ज लाई मेरो कार्यकालमा पूरा गर्न सकिन । हाम्रो संस्था राज्यका निकायसँग हाम्रो अधिकार र सुविधाको प्राप्तिमा बहस गर्न खोलिएको संस्था होइन । हाम्रा क्रियाकलाप विद्यालय र विद्यार्थीको क्षमता विकासमा केन्द्रित छन् । विद्यालय सञ्चालक बीचको भाइचारा स्थापित गर्नको लागि हामीले काम गर्दै आएका छौं ।

हामीजस्ता संस्थाले भोग्ने अर्को समस्या आर्थिक समस्या पनि देखियो । अर्थ व्यवस्थापन बिना कुनै पनि काम गर्न नसकिने अवस्था छ नै । यसको साथसाथै संस्था भित्रका साथीहरूमा पूर्ण रूपमा संगठित भएर काम गर्नुपर्छ भन्ने कुराको मान्यताको विकास, संस्थामा क्रियाशिल भएर काम गर्दा यसको लाभ हामीलाई नै हुने हो भन्ने कुराको विकास भएको पाइएन । संगठनका काम अगाडि बढाउनको लागि संगठनमा भएकै साथीहरू पनि तत्पर नरहने स्थिति देखियो । यही अवस्थामा पनि हामीले लक्ष्य गरेका अधिकांश काम सम्पन्न गरेका छौं ।

सदस्य विद्यालयले समेत संस्थाका गतिविधिमा कम चासो देखाएर पनि संस्था थप सक्रिय भएन भन्न मिल्छ ?

हाम्रा विद्यालय असहज अवस्थाबाट आए ,किनकी कोरोना महामारीका कारण विद्यालय कसरी चल्ने भन्ने कुरा नै प्रमुख रह्यो । विद्यालय ले शुरूमा विद्यालय बन्द नै गर्नुपर्यो ,विस्तारै त्यसलाई अनलाइन कक्षाको माध्यमबाट कक्षा चलाउने काम भयो । यस्तो अवस्थामा विद्यालयको सक्रियता संगठनका गतिविधि केन्द्रित हुन नसकेको कुरालाई मुद्धा बनाउन म चाहान्न ,किनकी पहिलो कुरा त आफ्नो संस्थालाई कसरी जोगाउने, आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने कुराको चासो र चिन्ता नै महत्वपूर्ण हो, हाम्रा विद्यालयले गरेको पनि त्यही नै हो जस्तो लाग्छ । कोरोना महामारीमा विद्यालयलाई कसरी चलाउने, अधिकांश विद्यालयको चिन्ता भाडा कसरी तिर्ने, शिक्षकलाई तलब कसरी खुवाउने, पढाई कसरी अगाडि बढाउने भन्ने जस्ता आन्तरिक व्यवस्थापनमा फस्दा संगठनको काममा कम ध्यान पुगेको हो भन्न सकिन्छ ।

प्याब्सक आफ्नै उतारचढावमा छ, यस्तो अवस्थामा संगठन अझै किन निरन्तर चाहिने ?

शैक्षिक संस्था सुधारको लागि धेरै संस्था खुलेका छन् । प्याब्सन, एनप्याब्सन जस्ता संस्था शैक्षिक संस्थाकोे प्रतिनिधित्व गरेर नीतिगत तहमा राज्यसँग लविङ गर्ने काममा क्रियाशिल हुँदै आएका छन् । हामी अन्य संस्था भन्दा पृथक छौं, किनकी हामी स्थापनाको हिसाबले पनि भेगीय रूपमा काम गर्ने गरी स्थापित भएका हौं । हरेक विद्यालयले आन्तरिक रूपमा विद्यार्थी तथा शिक्षकको क्षमता विकासको लागि काम गर्दै आएका हुुन्छन् तर हाम्रो जस्ता संगठनमा हुने आवद्धता र सहभागिताले विद्यालयका तिनै योजनामा थप बल पुराउनको लागि मद्धत गर्छन् । सानो फोरममा मात्रै भएपनि विद्यार्थी, विद्यार्थीबीच प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गर्ने, शिक्षकको क्षमता विकास, सामुहिक रूपमा साझा योजनाको विकासको लागि काम गर्न संगठनले सहयोग गरेको छ । अर्को कुरा हामीले विद्यालयका सञ्चालकबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकोले एक आपसमा समस्या पर्दा त्यसको समाधानमा काम गर्नको लागि पनि संगठनको आवश्यकता छ ।

You might also like

Comments are closed.