पछिल्लो समय नेपालमा हेभी इक्विपमेन्ट व्यवसाय कमजोर बनेको व्यवसायीहरुले बताउँदै आएका छन् । कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले असर यो व्यवसायमा परेको छ । निर्माण क्षेत्रको कामले तिब्रता नपाउँदा हेभी इक्विपमेन्ट मेसिनहरुले काम पाउन छाडेको व्यवसायीहरु बताउँछन् । यसैक्रममा हामीले यो व्यवसायका सन्दर्भमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका सल्लाहकारहरु मिलनबाबु मल्ल, मोहनकुमार श्रेष्ठ, राजेन्द्र अधिकारी र श्याम महर्जनसँग संक्षिप्त कुराकानी गरेका छौंः
नेपालमा हेभी इक्विपमेन्ट व्यवसायमा पछिल्लो समय मन्दी छाइरहेको छ । आर्थिक मन्दीले निर्माण व्यवसायहरु ठप्प हुँदा हेभी इक्विपमेन्ट व्यवसाय कमजोर भएको हो । हेभी इक्विपमेन्ट व्यवसाय फस्टाउन नसक्दा पछिल्लो समय नेपालमा आयात भएका हेभी इक्विपमेन्टका मेसिनरी सामानहरु बिक्रीमा पनि कमी आएको छ । भूकम्पपछि निर्माण क्षेत्रले गति लिदा वर्षमा एउटै कम्पनीले हजारभन्दा बढी मेसिनहरु बिक्री गर्थे भने अहिले त्यो घटेर निकै सानो संख्यामा छ ।
पछिल्लो समयमा व्यापार कम्तिमा पनि १० देखि २० प्रतिशतमा खुम्चिएको अवस्था छ । देश विकास निर्माणमा हेभी इक्विपमेन्ट व्यवसाय र मेसिनहरुको योगदान निकै महत्वपूर्ण छ । देश विकासका लागि विकास निर्माणको कामलाई दु्रत गतिमा अगाडि बढाउनुपर्ने देखिएको छ । निर्माण व्यवसायीले आफूले गरेको कामको तत्काल भुक्तानी पनि पाउनुपर्छ । निर्माण व्यवसायीले भुक्तानी पाएर देश विकासको काम भएमा आगामी दिनमा हेभी इक्विपमेन्ट व्यवसाय सशक्त रुपमा अगाडि बढ्न सक्छ ।
अहिलेको अवस्थामा हेभी इक्विपमेन्ट व्यावसायिक क्षेत्रले विभिन्न किसिमका समस्याहरू भोगिरहेका छन् । कानुनी जटिलता, वित्तीय समस्या, जनशक्तिको अभाव र विदेशी लगानीकर्तालाई आकर्षित गर्न कठिनाइ लगायतका समस्या भोग्नु परेको छ । यी सबै कुराले गर्दा नेपालको आर्थिक स्थिति कमजोर हुँदै गएको छ । यस सन्दर्भमा सरकारको तर्फबाट व्यवसायीहरूलाई आवश्यक सहयोग, सरलता र नीतिगत स्थायित्व प्रदान गरिनु अत्यन्त आवश्यक छ । हाल व्यावसायिक क्षेत्रमा इमानदारीको कमी पनि देखिएको छ र त्यसमा सुधार ल्याउने जिम्मेवारी सरकारको हो र निजी क्षेत्रले पनि यसमा सकारात्मक साथ दिनुपर्दछ ।
नेपालको पूर्वाधार विकासमा निजी क्षेत्र वा विकास निर्माण व्यवसायीहरूको भूमिका महत्वपूर्ण छ । तर उनीहरूलाई सुरक्षित वातावरण, स्पष्ट नीति, र दीर्घकालीन दृष्टिकोण आवश्यक छ । यसका लागि उचित कानुन बनाउने, सुरक्षाको प्रत्याभूति दिने र सहज प्रक्रिया निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
२०५१ सालतिर तत्कालीन सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने योजना शुरू ग¥यो । त्यतिखेर गाउँको बाटो खन्ने योजना बन्यो र मेशिनहरुको माग बढ्न थाल्यो । योजना अघि बढेसँगै मेशिनको माग बढ्यो । यही मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले एक्साभेटर, डोजर, रोलर जस्ता हेभी इक्विपमेन्ट खरिद गरी भाडामा दिन थाल्दै व्यावसायिक यात्राको थालनी गरे । सुरुमा ठूला निर्माण कम्पनीहरूको पहुँचमा सीमित रहेका यी उपकरणहरू समयसँगै गाउँ-गाउँसम्म फैलिन थाले । हेभी इक्विपमेन्ट भाडामा लगाउने यो व्यवसाय देशभर फैलियो र हजारौं युवाहरूले रोजगारी पाए ।
कोरोना महामारीपछिको समय भने व्यवसायका लागि खासै सुखद रहन सकेन । महामारीले निर्माण कार्यमा व्यापक असर पा¥यो । सडक, पुल र अन्य पूर्वाधार निर्माणका योजना थालिए पनि पूरै कार्यान्वयन हुन सकेन । यससँगै हेभी इक्विपमेन्टको माग घट्दै गयो । महामारी पछि पनि व्यवसायमा अपेक्षित सुधार देखिएन । हालको प्रमुख समस्या भनेको ‘काम नहुनु’ र ‘भुक्तानी नपाउनु’ हो । निजी ठेकेदार वा सरकारी योजनाको काम पाएपनि समयमा भुक्तानी नहुँदा व्यवसायीहरू ऋणमा डुबिरहेका छन् । बैंकको ब्याजदर चर्को छ । यसबारे सरकारसँग बारम्बार छलफल गरिए पनि स्थायी समाधान हुन सकेको छैन ।
निष्कर्षमा, हेभी इक्विपमेन्ट व्यवसाय नेपालमा विकास निर्माणसँगै बढेको भएपनि अहिले व्यवस्थापन, पारदर्शिता र दिगोपनको खाँचो देखिएको छ । व्यवसायी सल्लाहकारहरूको नेतृत्वमा अब यो क्षेत्रलाई संस्थागत बनाउँदै अगाडि बढाउने प्रयास भइरहेको छ ।
व्यवसायको रुपमा स्थापित गर्न सकेका छैनौं । विदेशमा हेभी इक्विपमेन्ट व्यवसाय भनेर छुट्टै व्यवसाय दर्ता हुन्छ र उनीहरुले हेभी इक्विपमेन्ट सप्लायर्सको काम गर्छन् । नेपालमा भने त्यस्तो व्यवस्था छैन । खानी उद्योगी, इटा इद्योगी, क्रसर उद्योग, निर्माण व्यवसायी लगायत विभिन्न व्यवसायको नाममा दर्ता गरेर मेसिन खरिद गरी भाडामा लगाउनुपर्ने बाध्यता छ । यसलाई छुट्टै दर्ता गरेर व्यावसायिक रुपमा दर्ता गराउने हाम्रो प्रयास हो, तर सफल भएको छैन । राज्यले यस विषयमा गम्भिर भएर सोच्नुपर्छ र यो व्यवसायलाई छुट्टै व्यवसायको मान्यता दिनुपर्दछ ।
हेभी इक्विपमेन्ट कुनै न कुनै आवरणमा व्यवसायी गर्नुपर्ने बाध्यता हटाउन राज्यले पहल गर्नुपर्दछ । यसरी छुट्टै व्यवसायको मान्यता भएमा यो क्षेत्रले व्यावसायिक प्रगति गर्न पनि सक्छ । उदाहरणका लागि कुनै कट्याक्टरले मेसिन ल्याएमा उनले आफ्नो काम हुँदासम्म मात्रै मेसिन चलाउन सक्छ । तर हेभी इक्विपेमन्ट व्यवसाय छुट्टै दर्ता भएमा मेसिनहरुको मर्मत, सम्भार तथा सेवामा पनि सुधार आउन सक्छ । पछिल्लो समय आर्थिक मन्दी छाएको छ । विकास निर्माणमा एक रुपता छैन । कहिले ह्वात्तै बढ्ने र बढेको समयमा धेरै मेसिन भित्रिने र कहिले काही ह्वात्तै काम घट्ने र मेसिन बढी हुने अवस्था छ । विकास निर्माणमा एक रुपता हुन जरुरी छ ।
Comments are closed.