काठमाडौं । विकास निर्माण बिना राज्यको आर्थिक विकास हुन नसक्ने वक्ताहरुले बताएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनका अवसरमा बोल्ने वक्ताहरुले निर्माण क्षेत्रको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
निर्माण क्षेत्रमा हेभी इक्विपमेन्ट मेसिनरीहरुको योगदान महत्वपूर्ण रहेकाले हेभी इक्विपमेन्ट व्यवसायलाई सरकारले प्राथमिकता राख्नुपर्ने उनीहरुको माग छ । राज्यको गलत नीतिका कारण व्यवसायीहरु मर्कामा परेको बताउँदै उनीहरुले नीतिगत सुधारको लागि सरकार गम्भिर बन्नुपर्ने बताए । हेभी इक्विपमेन्ट मेसिनरी प्रडक्ट भएपनि राज्यले सडक कर लिने गरेकोमा उनीहरुले आक्रोश पोखे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले हेभी इक्विपमेन्टकै माध्यमबाट विकास निर्माणको काम हुने बताउँदै हेभी इक्विपमेन्ट व्यवसायीहरुको हितमा काम गर्न सरकार तयार रहेको बताए । आर्थिक मन्दीको मार सबै क्षेत्रमा परेजस्तै निर्माण क्षेत्रमा पनि परेको बताउँदै क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार तथा अग्रज निर्माण व्यवसायी रमेश शर्माले विकासमा सरकारको गलत नीति रहेको बताउदै सुधार गर्न सुझाव दिए । ‘विकासका काम गर्दा सरकारका विभिन्न मन्त्रालयमा फाइल लिएर डुल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘व्यवसायीलाई दुःख दिने काम बन्द हुनुपर्छ ।’ गाउँ गाउँ बाटो खन्ने नाममा पहिरो जाने गोरेटेहरु बनेको बताउँदै उनले राज्य हितमा दीगो विकास आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, पेट्रोलियम डिलर एसोसिएसन महासंघका महासचिव विश्वप्रसाद अर्याल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुवँर लगायतले बोलेका थिए । महासंघका अध्यक्ष प्रेम श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, महासचिव सुरेश खत्रीले महासंघका गतिविधिहरुका बारेमा धारणा राखेका थिए ।
कार्यक्रमको उद्घाटनका अवसरमा चित्रकारहरुसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।






Comments are closed.