नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको कोषाध्यक्षको जिम्मेवारीमा रहेका युवा व्यवसायी सुनिल थापा हेभी इक्विपमेन्ट व्यवसायमा सक्रिय छन् । व्यावसायिक हकहितका क्षेत्रमा निरन्तर आवाज उठाउँदै आइरहेका थापासँग हामीले महासंघका गतिविधि लगायत विविध विषयमा केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेका छौं:
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले सरकारको नीति व्यवसायमैत्री हुनुपर्छ भन्ने कुरा उठाउँदै आइरहेको छ । तपाईंको दृष्टिमा नीतिगत रूपमा के सुधार आवश्यक छ ?
हाम्रो मुख्य माग नै सरकारको नीति व्यवसायमैत्री हुनुपर्छ भन्ने हो । हामीले निरन्तर आवाज पनि उठाउँदै आइरहेका छौं, तर सुनुवाई हुन सकेको छैन । भन्नलाई सबैले सरकारी नीति व्यवसायीमैत्री हुनुपर्छ भन्ने तर नीति नियमहरुले सधैं व्यवसायीलाई दुःख दिने काम गरिरहेको हामीले महसुस गरिरहेका छौं । अहिलेका नीतिहरू धेरैजसो व्यावसायिक कार्यान्वयनसँग मेल खाँदैनन् । व्यवसाय सञ्चालनका क्रममा देखिने वास्तविक समस्याहरूलाई केन्द्रमा राखेर नीति निर्माण भएमा व्यवसायीलाई लगानीका लागि प्रोत्साहन हुन सक्छ । उदाहरणकै लागि हामीले हेभी इक्विपमेन्ट व्यवसाय सञ्चालन गरिरहेका छौं । यी मेसिनहरु विकास निर्माणमा प्रयोग हुन्छ । तर राज्यले सवारी साधनको मान्यता दिएर सडक कर उठाउँदै आइरहेको छ । हामी दोहोरो करको मारमा छौं । यस्तो नीतिलाई सरकारले सुधार गर्नुपर्छ भन्ने हाम्रो माग हो ।
व्यवसाय सञ्चालनमा देखिएका मुख्य समस्याहरु केके छन् ?
एकातिर हामीले बैंकिङ प्रणालीमा पहुँच पाउन कठिनाइ भइरहेको छ भने अर्कोतिर बीमा कम्पनीहरूले पनि अनावश्यक अड्चनहरू सिर्जना गरिरहेका छन् । जब कुनै व्यवसायी साथी आर्थिक संकटमा पर्नुहुन्छ, त्यस्तो अवस्थामा हामीसँग आएर सल्लाह माग्नुहुन्छ । तर समस्या यस्तो छ समाधान गर्नै नसकिने अवस्थासमेत देखिन्छ । पलायनको अवस्थामा पुग्न लागेका व्यवसायीको संरक्षण राज्यको पनि दायित्व र जिम्मेवारी हो । यस विषयमा राज्य पनि गम्भिर बन्न जरुरी छ । व्यवसायीलाई दुःख दिने नियम मात्रै राख्नु हुँदैछ । बीमा कम्पनीहरूले आफू जानु पर्ने ठाउँमा अरूलाई पठाउने, अनावश्यक प्रक्रिया थोपर्ने जस्ता व्यवहार पनि हुने गरेका छन् । आर्थिक मन्दीले व्यवसायमा कमी आउनुका साथै बजारमा क्रेडिटको समस्या पनि बढिरहेको छ । यी विविध समस्यासँग जुधेर व्यवसायी सञ्चालन गरिरहेका छौं ।
महासंघको कोषाध्यक्षको जिम्मेवारी बहन गरिरहनुभएको छ । महासंघले सामाजिक उत्तरदायित्वतर्फ कसरी काम गरिरहेको छ ?
महासंघमा देशभरका संघहरु आबद्ध छन् । देशभरका व्यवसायीहरुको छाता संस्था भएको नाताले महासंघको मुख्य उद्देश्य नै व्यावसायिक हितमा काम गर्ने हो । त्यसका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि हामीले काम गरिरहेका छौं । आर्थिक मन्दीका कारण सोचेजस्तो गरी काम गर्न नसकेपनि सामाजिक क्षेत्रमा महासंघको उपस्थिति निरन्तर रहदै आइरहेको छ । हामीले सामाजिक क्षेत्रमा व्यक्तिगत तथा सामूहिक रूपमा योगदान गर्दै आएका छौं । उदाहरणका लागि भूकम्पको समयमा हाम्रो उपकरणहरू सडकमा थिए । त्यो उपकरण हामीले सरकारलाई निःशुल्क रूपमा उपलब्ध गराएका थियौँ । त्यस्तैगरी जाजरकोटमा भूकम्प आउँदा पनि हामीले आर्थिक सहयोग गरेका थियौँ । महावीर पुनको अभियानमा पनि हाम्रो साथ रह्यो । सामाजिक उत्तरदायित्व बहनमा हामीले आफ्नो ठाउँबाट सक्दो काम गर्दै आइरहेका छौं ।
देशमा समृद्ध नेपालको नारा तय गरिएको छ । तपाईंको अनुभवमा अवस्था कस्तो देखिनुभएको छ ?
समृद्ध नेपाल भन्ने नारामा विश्वास त छ, तर व्यवहारमा त्यस्तो अनुभूति छैन । सरकारले स्थानीय तहमा विकासका काम लगाउने त गर्छ, तर त्यसको भुक्तानी उठ्दैन । सरकारले बजेट छुट्याएर नै काम दिएको भए यो समस्या हुने थिएन । अहिले सरकार आफैले व्यापार प्रणाली परिवर्तन गरिदिए उपयुक्त हुने देखिन्छ ।
विविध समस्याहरु देखाउनु भयो । ती समस्या समाधान कसरी सम्भव छ ?
समस्यालाई समग्रतामा हेर्ने हो भने समाधानका उपायहरू पनि छन् । समस्या समाधानका लागि सरकार र निजी क्षेत्र समन्वयात्मक हुनुपर्छ । बीमा, वित्तीय पहुँच, सरकारी नीति यी सबै एक आपसमा जडित छन् । यसलाई समग्र ढंगले समाधान गर्नुपर्ने देखिन्छ ।
महासंघको आगामी योजना के–के छन् ?
हामी भावी योजनामा विभिन्न पाटाहरूमा काम गर्दैछौं । जस्तै, म्यागजिन छाप्ने, क्यालेन्डर प्रकाशन गर्ने, नयाँ विज्ञान (प्रविधि)को खोजी गर्ने रणनीति बनाएका छौं । पार्किङको समस्या समाधानका लागि सरकारी जग्गा उपलब्ध गराउन अनुरोध गरिरहेका छौं, त्यसका लागि पहल पनि हुनेछ । हामीले व्यावसायिक हितमा काम गर्नेछौं ।
यो क्षेत्रमा धेरै नयाँ व्यवसायीहरु पनि आउने गरेको देखिन्छ । नयाँ व्यवसायीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
नयाँ व्यवसायीहरूले यस क्षेत्रमा आउनु अघि अरूको भनाइ वा देखाइमा मात्र भर नपर्नुस् । पहिले राम्रोसँग बुझ्नुस् । कतिपय पुराना व्यवसायीहरु नै व्यवसायबाट पलायन भएको अवस्था छ । नयाँ व्यवसायीलाई धेरै चुनौति छन् । व्यवसायमा नयाँ व्यवसायी पनि आउनुपर्छ तर आउँदा दीर्घकालीन योजना बनाएर आउनुस् भन्ने मेरो सुझाव छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
हामी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको संघारमा छौं । वैशाख १८ गते हुने महाविधेशन सफल बनाउन देशभरका व्यवसायीलाई आह्वान गर्दछु । सबै साथीहरुको साथ र सहभागितामा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै महासंघलाई नयाँ उत्साहका साथ अगाडि बढाउनेछौं । महाधिवेशनमा सम्पूर्ण व्यवसायीहरुलाई स्वागत गर्दछु ।
Comments are closed.