मनसुनी सक्रियता बढ्दा विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

 काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मनसुनी गतिविधि बढेको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही तीव्र भएको विभागले जानकारी दिएको छ ।

आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ ।

आज राति देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। देशका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग, लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

You might also like

Comments are closed.