नेपाल दालमोठ उत्पादक संघको मूल उद्देश्य नेपाली दालमोठ उद्योग तथा उत्पादनको प्रवद्र्धन मात्र नभई किसानको श्रमलाई बजारसँग जोड्दै रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता हासिल गर्नु हो । कृषि अभियन्ताका रूपमा मेरो अनुभवले स्पष्ट देखाएको छ । दालमोठ उद्योग केवल एक खाद्य उद्योग होइन, यो किसान, कृषि र उद्योगलाई एउटै सूत्रमा बाँध्ने सशक्त माध्यम हो । संघमा आबद्ध दालमोठ उद्योगहरूले गुणस्तर, तौल र मूल्यमा पूर्ण जिम्मेवारी वहन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (DFTQC) मा अनिवार्य दर्ता भई गुणस्तर परीक्षण र प्रमाणीकरणपछि मात्र उत्पादन गरिरहेका छन् । उपभोक्ताको स्वास्थ्यप्रति कुनै सम्झौता नगर्ने हाम्रो प्रतिबद्धता छ ।
नेपाल कृषि प्रधान देश हो र दालमोठ उद्योग पूर्ण रूपमा कृषि जन्य कच्चा पदार्थमा आधारित छ । बदाम, केराउ, चना दाल, चामल, मैदा, मसला, पाम तेललगायतका सामग्री किसानकै खेतमा उत्पादन हुन्छन् । यसको अर्थ दालमोठ उद्योगको विकास भनेको किसानको उत्पादनको सुनिश्चित बजार हो । यदि राज्यले स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादनसँग मेल खाने आयातित वस्तुहरूमा कडाइ ग¥यो भने किसानले उत्पादनको उचित मूल्य पाउनेछन् र कृषि पेशा सम्मानजनक तथा दिगो बन्नेछ ।
आजको ठूलो आवश्यकता भनेको राज्यको स्पष्ट नीतिगत हस्तक्षेप हो । नेपाली उद्योगको बजारिकरण र प्रवद्र्धनमा राज्यले अग्रसर भूमिका खेल्नुपर्छ, आयात नियन्त्रण, अतिरिक्त कर तथा अन्तःशुल्कमा छुट, र उद्योग सञ्चालनका लागि सहुलियतपूर्ण ऋण तथा ब्याजदर छुट उपलब्ध गराउनुपर्छ। यी कदमहरूले उद्योगलाई मात्र होइन, प्रत्यक्ष रूपमा किसान र युवालाई लाभ पु¥याउनेछन्। दालमोठ उद्योगको विस्तारसँगै खेती, प्रशोधन, प्याकेजिङ, ढुवानी र बजार व्यवस्थापनसम्म हजारौँ नयाँ रोजगारी सिर्जना हुने निश्चित छ । यदि राज्यले सरकारी स्वामित्वमा रहेका खाली तथा बाँझो जग्गा, खोला–खोल्सा, सहकारी वन, राष्ट्रिय तथा सामुदायिक वनजस्ता क्षेत्रहरू वातावरणीय सन्तुलन कायम राख्दै उत्पादनमुखी प्रयोगका लागि उपलब्ध गराउने नीति ल्यायो भने, हामी दालमोठ उद्योगलाई चाहिने सम्पूर्ण कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने जिम्मेवारी लिन तयार छौँ । यसबाट आयात घट्नेछ, किसानको आम्दानी बढ्नेछ, युवाले स्वदेशमै रोजगारी पाउनेछन् र उपभोक्ताले महँगीबाट राहत पाउनेछन् ।
त्यसैगरी, नेपाली दालमोठलाई विश्व बजारमा चिनाउन सरल निर्यात नीति, कूटनीतिक पहल र स्वदेशी तथा विदेशी खाद्य प्रदर्शनीहरूमा सरकारको सक्रिय सहभागितासहित नेपाली उद्योगलाई अवसर प्रदान गर्नुपर्छ । स्वदेशी उद्योग, किसान र रोजगारीलाई केन्द्रमा राखी राज्यले यस्ता नीतिगत निर्णयहरू अब ढिलाइ नगरी कार्यान्वयनमा ल्याउनु नै राष्ट्रिय हितको मार्ग हो । नेपाल दालमोठ उत्पादक संघले उद्योगीहरूलाई मार्गदर्शन, तालिम, गुणस्तर अनुगमन र बजार व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । संघले स्वदेशी उत्पादन प्रवद्र्धन, निर्यात विस्तार र उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यमा निरन्तर काम गरिरहेको छ । यसै सन्दर्भमा कृषि अभियन्ता तथा नेपाल दालमोठ उत्पादक संघका अध्यक्ष हेमकान्त पराजुलीसँग कुराकानीः
१) नेपालमा दालमोठ उत्पादनको अवस्था कस्तो छ ?
नेपालमा दालमोठ उत्पादनको अवस्था सम्भावनायुक्त भए पनि अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । नेपाली उद्योगहरूसँग गुणस्तरीय दालमोठ उत्पादन गर्ने सीप, अनुभव र जनशक्ति भए पनि राज्यस्तरबाट स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने स्पष्ट नीति अभाव देखिन्छ । यदि राज्यले आयातित दालमोठ तथा स्न्याक्समा नियन्त्रण गर्दै स्वदेशी उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्ने नीति लियो भने नेपाली दालमोठ उद्योग अझ बलियो बन्न सक्छ । स्वदेशमै उत्पादन भएको दालमोठ प्रयोग गर्न उपभोक्तालाई प्रेरित गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो ।
२) दालमोठ उत्पादनका लागि कच्चा पदार्थ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हाल दालमोठ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आंशिक रूपमा नेपालमै उत्पादन भए पनि ठूलो हिस्सा आयातमा निर्भर छ । तर यदि सरकारले सहकार्य ग¥यो भने देशभर रहेका बाँझो तथा खेतीयोग्य जमिन उद्योगी वा संघलाई भाडामा उपलब्ध गराई दाल, चना, आलु, मसला लगायतका कच्चा पदार्थ नेपालमै उत्पादन गर्न सकिन्छ । यसो गर्न सके दालमोठ उद्योगलाई चाहिने कच्चा पदार्थमा आत्मनिर्भर बन्नुका साथै किसानलाई पनि रोजगारी र आम्दानीको अवसर सिर्जना हुनेछ ।
३) दालमोठ उत्पादनका क्षेत्रमा लगानी कति छ ?
दालमोठ उत्पादन क्षेत्रमा हालसम्म साना, मझौला तथा ठूला उद्योगमार्फत धरै निजी लगानी भइसकेको छ । एउटा व्यवस्थित उद्योग स्थापना गर्न मेसिनरी, भवन, कच्चा पदार्थ र जनशक्तिमा लाखौँदेखि करोडौँ रुपैयाँसम्म लगानी आवश्यक पर्छ । तर सहुलियतपूर्ण कर्जा, कर छुट र नीतिगत स्थायित्वको अभावका कारण धेरै इच्छुक लगानीकर्ता यस क्षेत्रमा आउन हिच्किचाइरहेका छन् । राज्यबाट प्रोत्साहन पाएमा यो क्षेत्र ठूलो लगानी आकर्षित गर्न सक्ने क्षमतामा छ ।
४) गुणस्तरलाई कसरी ध्यान दिनुभएको छ ?
गुणस्तर दालमोठ उद्योगको सबैभन्दा महत्वपूर्ण पक्ष हो । संघको तर्फबाट सबै दालमोठ उद्योगलाई निरन्तर सचेत बनाउने प्रयास भइरहेको छ । जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधिलाई संघले कदापि स्वीकार गर्दैन । स्वच्छ उत्पादन प्रक्रिया, गुणस्तरीय कच्चा पदार्थ, म्याद मिति, लेबलिङ र खाद्य सुरक्षा मापदण्ड पालना गर्न उद्योगहरूलाई कडाइका साथ निर्देशन र अनुगमन गरिँदै आएको छ ।
५) बजार व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
बजार व्यवस्थापनका लागि नेपाली दालमोठको पहिचान र ब्रान्डिङमा विशेष ध्यान दिइएको छ । खुद्रा तथा थोक बजार सञ्जाल विस्तार, उपभोक्तामाझ स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्ने अभियान र गुणस्तरअनुसार उचित मूल्य निर्धारण गरिँदै आएको छ । साथै अवैध आयात र अस्वस्थ प्रतिस्पर्धाविरुद्ध संघले निरन्तर आवाज उठाइरहेको छ, जसले बजारलाई व्यवस्थित बनाउन मद्दत गरिरहेको छ ।
६) दालमोठ उत्पादनका लागि चुनौती कस्ता छन् ?
दालमोठ उत्पादन क्षेत्रमा मुख्य चुनौतीका रूपमा आयातित उत्पादनसँग प्रतिस्पर्धा, कच्चा पदार्थमा आयात निर्भरता, उत्पादन लागत वृद्धि, विद्युत् र ढुवानी खर्च, सहुलियतपूर्ण कर्जाको अभाव र स्पष्ट सरकारी नीतिको कमी रहेका छन् । यी चुनौतीका कारण धेरै उद्योगले आफ्नो पूर्ण उत्पादन क्षमता उपयोग गर्न सकेका छैनन् ।
७) सरकारी निकायबाट के कस्ता सहयोग भएका छन् ?
नेपाल दालमोठ उत्पादक संघको तर्फबाट कृषि मन्त्रीज्यू र वन मन्त्रीज्यूसमक्ष पटक–पटक तार तथा ज्ञापनपत्रमार्फत मागहरू राखिएका थिए । तर दुर्भाग्यवश सोचेजस्तो ठोस र व्यवहारिक सहयोग प्राप्त हुन सकेको छैन । सरकारबाट दालमोठ कम्पनीहरूलाई चाहिने कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भन्ने आश्वासन मात्र आएको छ, तर जमिन उपलब्धता, अनुदान, सहुलियतपूर्ण कर्जा र कच्चा पदार्थ उत्पादनमा प्रत्यक्ष सहयोगजस्ता विषयमा कार्यान्वयन देखिएको छैन, जसले उद्योगीहरूलाई केही निराश बनाएको छ ।
८) नेपाल दालमोठ उत्पादक संघले के कस्ता काम गरिरहेको छ ?
संघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, दालमोठको गुणस्तरमा जोड दिने, खाद्यसम्बन्धी तालिम सञ्चालन गर्ने र कच्चा पदार्थको स्वदेशी उत्पादन बढाउने दिशामा निरन्तर काम गरिरहेको छ । साथै उद्योगीहरूको हक–हित संरक्षण, सरकारसँग समन्वय र नीतिगत सुधारका लागि संघ सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।
९) नेपाली दालमोठ निर्यात तथा बाहिरी उत्पादनको आयात कस्तो छ ?
हाल नेपाली दालमोठको निर्यात सीमित मात्रामा छ भने बाहिरी उत्पादनको आयात उच्च अवस्थामा छ । अब आयात घटाउँदै निर्यात बढाउने दिशामा स्पष्ट रणनीति आवश्यक भइसकेको छ । सरकारले नीतिगत सहयोग, गुणस्तर प्रमाणीकरण र बजार पहुँच सहज बनायो भने नेपाली दालमोठ विदेशी बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुन्छ ।
१०) यस क्षेत्रबाट रोजगारीको अवस्था कस्तो छ ?
दालमोठ उद्योगबाट हाल निक्कै राम्रो रोजगारी सिर्जना भइरहेको छ । उत्पादन, प्याकेजिङ, ढुवानी, बजार व्यवस्थापनदेखि कृषि क्षेत्रसम्म हजारौँ मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन् । उचित सरकारी नीति, लगानी र सहयोग प्राप्त भएमा यस क्षेत्रबाट अझ धेरै रोजगारी सिर्जना गर्न सकिने प्रचुर सम्भावना छ ।





Comments are closed.