वस्तुगत संघहरुको अनुभव र सुझावलाई राज्यले ग्रहण गर्नुपर्छ

हेमराज ढकाल, उपाध्यक्ष एवं वस्तुगत परिषद् सभापति, नेपाल उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत संघहरुको भूमिका महत्वपूर्ण मानिन्छ । आफ्नो क्षेत्रमा लामो अनुभव संगालेका र विज्ञता हासिल गरेका उद्यमी व्यवसायीहरुले वस्तुगत संघहरुलाई नेतृत्व गरिरहेका छन् । ती अनुभवी व्यक्तिहरुको उपस्थितिले महासंघलाई अझै बलियो बनाउन सकारात्मक भूमिका खेलेको छ । यसैक्रममा वस्तुगत संघहरुको भूमिकामा केन्द्रित रहेर महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषद सभापति हेमराज ढकालसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानीः

एफएनसिसिआईमा वस्तुगत संघहरुको भूमिका र योगदानलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

वस्तुगत संघहरुलाई हामीले एफएनसिसिआईको मेरुदण्डका रुपमा लिने गर्दछौं । वस्तुगत संघको संरचनामा जोडिएको व्यापारिक संस्थाहरु ८० प्रतिशत भन्दा बढी हामीसँग सदस्य छन् । वस्तुगत संघ आफैमा पनि जिल्ला, प्रदेश शाखा तथा महासंघको संरचनामा अगाडि बढेका छन् । आफ्नो क्षेत्रमा वस्तुगत संघहरुले पुरै देशलाई नै समेट्न सफल भएका छन् । कतिपय संघहरुले नेपाली उत्पादनलाई निर्यात गर्नेदेखि लिएर विदेशी लगानी नेपाल भित्र्याउनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । धेरै वस्तुगत संघहरुले एफएनसिसिआईमा मात्रै नभएर समग्र देशलाई नै महत्वपूर्ण योगदान पु¥याएका छन् । यी संघहरुलाई राज्यको आर्थिक सल्लाहकार मान्न पनि सकिन्छ । उनीहरुको कुरा सुन्नुपर्छ ।

jutta mela

वस्तुगत संघका कुरा राज्यले सुन्नुपर्छ भन्ने तपाईंको धारणा हो ?

बजेट बनाउँदा, मौद्रिक नीति ल्याउँदा, लगानी बढाउँदै, सम्भावना भएका ठाउँहरुलाई प्रवद्र्धन गर्नका लागि वस्तुगत संघहरुको राय मात्रै लिएपनि पुग्छ भन्ने हामीलाई लाग्छ । किनकी त्यस्ता वस्तुगत संघहरुमा आआफ्नो क्षेत्रमा लामो अनुभव संगालेका र विज्ञता हासिल गरेका व्यक्तिहरु छन् । संघलाई स्थापना गरी आजको दिनसम्म ल्याइपु¥याउँदा नेतृत्वहरुले धेरै अनुुभव हासिल गर्नु भएको छ । त्यो अनुभवलाई राज्यले ग्रहण गर्नुपर्छ । वस्तुगत संघहरुलाई राज्यले स्टेकहोल्डर मानेर अगाडि बढ्यो भने देशमा सकारात्मक परिवर्तनको लागि राम्रो सम्भावना पनि रहन्छ ।

महासंघका गतिविधिमा वस्तुगत संघहरुको उपस्थिति कस्तो छ ?

महासंघका हरेक गतिविधिमा वस्तुगत संघहरुको महत्वपूर्ण सहभागिता रहदै आइरहेको छ । वस्तुगत परिषदका कार्यक्रममा उहाँहरुको योगदान अझै पनि प्रशंसनीय छ । प्राय सबै वस्तुगत संघका साथीहरु काठमाडौंमा उपलब्ध पनि हुनुहुन्छ र संस्थाहरु सक्रिय पनि छन् । वौद्धिक दक्षता पनि राख्दछन् । महासंघले गरेका हरेक कार्यक्रमहरुको भाइब्रेसन ल्याउने वा त्यसलाई सञ्चालनमा सहयोग गर्ने काम वस्तुगत संघहरुबाट भएको छ । महासंघका कार्यक्रमलाई जीवन्त बनाउन यस्ता संघहरुको योगदान छ । निर्यात, कृषि, पर्यटन, फाइनान्स, कृषि मेसिनरीको विकास गर्ने संस्था, कृषि उत्पादनसँग जोडिएका संस्था, ऊर्जा, वैकल्पिक ऊर्जा, निर्माणसहित सेवा र उत्पादनमूलक लगायत देशको समग्र व्यापार व्यवसायको प्रतिनिधित्व गर्ने संघहरु महासंघमा आबद्ध छन् । यसले महासंघको गरिमालाई पनि उच्च बनाउन भूमिका खेलेको छ ।

वस्तुगत संघहरुबाट महासंघले लाभ लिइराखेको छ भने वस्तुगत संघहरुको हितमा महासंघले कस्तो काम गरिरहेको छ ?

वस्तुगत संघहरुका हरेक गतिविधिमा महासंघको पनि प्रत्यक्ष सहभागिता छ । वस्तुगतका हरेक मुद्धालाई महासंघले आफ्नै मुद्धा तथा एजेन्डा बनाएर अगाडि बढेको छ । वस्तुगत संघहरुका मागलाई पुरा गर्न महासंघले सरकारसँग लबिङ गर्नेदेखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्लेटफर्महरुमा जोडिएर सहकार्य गरिरहेको छ । बैंकिङ समस्या, आर्थिक मन्दीबाट सिर्जित समस्याहरुको समाधान लगायत गतिविधिमा महासंघले वस्तुगत संघहरुसँग सहकार्य गरि अगाडि बढिरहेको छ । विदेशी लगानी भित्र्याउनका लागि महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको पहल तथा अग्रसरतामा लगानी सम्मेलन हुँदैछ । हरेक गतिविधिमा महासंघले वस्तुगत संघहरुलाई साथमा लिएर अगाडि बढिरहेको छ ।

आगामी दिनमा वस्तुगत परिषदको भूमिकालाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ भन्ने लाग्छ ?

महासंघमा वस्तुगत परिषदका भूमिका सधैं प्रभावकारी नै छ । अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामीले पनि सोचिराखेका छौं । विशेषगरी संघहरुको कुराहरु सुन्ने र उहाँहरुको क्षेत्रमा परेका समस्या समाधानमा पहल गर्ने तथा महासंघका हरेक गतिविधिमा संघहरुलाई जोड्ने काम भइराखेको छ । हामीले महासंघका १४ जना कार्यसमिति सदस्य साथीहरुलाई सेक्टर छुट्याएर वस्तुगतको जिम्मेवारी नै दिएका छौं । जसले गर्दा सबै वस्तुगत संघहरुसँग पुग्ने, उहाँहरुको कुरा सुन्ने र समय समयमा बैठक बस्ने, छलफल गर्ने काममा सहज पनि भएको छ । वस्तुगत संघका सचिवालयलाई प्रभावकारी सञ्चालनमा सहयोग गर्न कार्यविधि (एसओपी) प्रतिवेदन नै तयार गरेका छौं । ती संस्थाहरुलाई आर्थिक सहयोग कसरी गर्ने कसरी सञ्चालन गर्ने भनेर प्रतिवेदनमा समेटिएको छ । धेरै वस्तुगत संघहरु महासंघमा जोडिएका छन् । हामीसँग नजोडिएका अन्य बस्तुगत संघहरुलाई पनि महासंघमा जोड्दै अगाडि बढ्ने अभियानमा महासंघ छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक स्थिति कमजोर बनेको छ । अब आर्थिक मुद्धामा सबै दलहरु एकजुट हुन जरुरी छ । लगानीमैत्री वातावरण बनाउन राज्य लाग्नुपर्छ । महासंघकै पहलमा लगानी सम्मेलन हुँदैछ । विदेशी लगानी भित्र्याएर देशलाई समृद्धिको अभियानमा अगाडि बढाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ । आर्थिक मुद्धामा सबै एक जुट भएर अगाडि बढ्दा मुलुकको हितमा काम गर्न सकिन्छ ।

You might also like

Comments are closed.