ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु, देशभर ७३९ स्थानीय तहमा सेवा

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले ललितपुर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेको छ । जिल्लाका बागमती, माहाकाल र कोन्जोसोम गाउँपालिमा स्वास्थ्य बिमा कार्यक्रम संयुक्त रुपमा आइतबार सुरुवात गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह र बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ३ वटै गाउँपालिका प्रमुख र उपप्रमुखलाई स्वास्थ्य बिमाको सदस्यता कार्ड वितरण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन् ।

३ वटै गाउँपालिका प्रमुख, उपप्रमुख, स्वास्थ्य संस्थाका प्रमुखहरु, जिल्ला समन्वय समितिका उपप्रमुख लगायतको उपस्थितिमा कार्यक्रम भएको हो । स्वास्थ्य बिमा कार्यक्रम लागु हुनु अगाडि ३ वटा गाउँपालिकाका दर्ता सहयोगीहरुको तालिम सम्पन्न भइसकेको छ । स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रहेको प्रमुख अतिथि सिंहले बताए ।

ललितपुरमा कार्यक्रम सुरु भएसँगै देशभर ७६ जिल्लामा यो कार्यक्रम लागु भएको कार्यकारी निर्देशक बसौलाले जानकारी दिए । ७५३ स्थानीय तह मध्येमा ७ सय ३९ स्थानीय तहमा यो कार्यक्रम लागु भएको बसौलाले बताए । यो कार्यक्रम लागु हुन एक मात्र जिल्ला काठमाडौं बाँकी छ । ‘अब तुरुन्त ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा कार्यक्रम सुरु हुनेछ,’ बसौलाले भने । काठमाडौं जिल्लाको दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी नगरपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम छिट्टै सुरु गर्ने तयारी भएको उनले जानकारी दिए ।

jutta mela

देशभर स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गरिएको बसौलाले बताए । ‘आगामी दिनमा कार्यक्रम विस्तारसँगै यसको प्रभावकारी कार्यान्वयन र गुणस्तरमा ध्यान दिनेगरी कार्यक्रम अगाडि बढाएका छौं,’ बसौलाले भने ।

You might also like

Comments are closed.