स्वास्थ्य बीमा कार्यक्रममा उल्लेख्य सुधार

काठमाडौं । आम नागरिकमा स्वास्थ्य सेवामा सहज पहुँच पर्याउने लक्ष्यसहित सरकारले २०७२ बाट सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्यो । २०७२ मा ३ जिल्ला कैलाली, बागलुङ र इलामबाट सुरु भएको यो कार्यक्रम अहिलेसम्म ७५ जिल्लामा सुरु भइसकेको छ । स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको यो कार्यक्रमलाई बाँकी २ जिल्ला काठमाडौं र ललितपुरमा पनि यही चालु आर्थिक वर्षभित्रै सुरु गर्ने तयारी भएको बोर्डले जनाएको छ ।

बोर्डले अहिलेसम्म ६ जना कार्यकारी निर्देशक पाइसकेको छ । बोर्डको बर्तमान कार्यकारी निर्देशकमा डा. दामोदर बसौला छन् । बीमा विज्ञसमेत रहेका बसौला बोर्डको नेतृत्वमा गत मंसिरमा मात्रै आएका हुन् । उनले आफ्नो कार्यकालको ७ महिनामा नै थप १५ जिल्लामा यो कार्यक्रमलाई सुरुवात गर्न सफल भए । हाल ७५ जिल्लाका ७३६ स्थानीय तहमा यो कार्यक्रम विस्तार भइसकेको छ । ‘कार्यक्रम बिस्तार भएको जिल्लाको कुल जनसंख्याको १८ दशमलव ६२ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन्,’ कार्यकारी निर्देशक बसौलाले भने, ‘यो प्रतिशत आगामी दिनमा उल्लेख्य बढ्नेछ ।’

देशभर रहेका ४२८ वटा सेवा प्रदायक अस्पतालबाट बीमितहरुलाई सेवा प्रदान गरिरहेको बसौलाले जानकारी दिए । ‘गरीबीको परिचयपत्र प्राप्त २६ जिल्लाका अति गरिब ४ लाख ७६ हजार ३ सय ५२ जना नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गरेका छौं,’ उनले भने ।

बिगतका आर्थिक वर्षदेखिको भुक्तानी गर्न बाँकी रकमलाई बोर्डले सेवा प्रदायक संस्थाहरुलाई दावी भुक्तानी गरिरहेको बसौलाले जानकारी दिए । बिगतका आर्थिक वर्षहरुमा दावी भुक्तानी बाँकी रहने र बोर्डको रकम फ्रिज हुने गरेको भएपनि गत आर्थिक वर्षमा सम्पूर्ण रकम भुक्तानी गरिएको बसौलाले जानकारी दिए । स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि छुट्याइएको ४ अर्ब ८२ करोड रुपैयाँ बोर्डले गत आवमा सेवा प्रदायक संस्थालाई भुक्तानी गरिसकेको छ । सम्पूर्ण रकम भुक्तानी गरिसक्दा पनि बिगतदेखिको बक्यौता भारले गर्दा ३ अर्ब रुपैयाँ सेवा प्रदायकलाई भुक्तानी गर्न बाँकी रहेको र चालु आवमा भुक्तानी हुने बसौलाले बताए । चालु आर्थिक वर्षको स्वास्थ्य बीमा कार्यक्रमको दावी भुक्तानीका लागि ७ अर्ब ५० करोड रुपैयाँ सरकारले बिनियोजन गरेको छ । खातामा पैसा आएपछि भुक्तानी सुरु हुने उनले जानकारी दिए ।

बसौलाकै नेतृत्वमा बोर्डले स्वास्थ्य बीमा कोषको सुरुवात गरिसकेको छ । स्वास्थ्य बीमा बापत संकलन भएको प्रिमियम पनि अब कोषमा जम्मा हुने बताइएको छ । हालसम्म स्वास्थ्य बीमा प्रिमियमबापत साढे ६ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।

बोर्डले स्थायी संगठन संरचना स्वीकृतिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिसकेको बसौलाले जानकारी दिए । बसौलाकै पहलमा अहिले ८ वटा कार्यविधि बनिसकेको छ । जुन कार्यविधिहरु कार्यान्वयनको चरणमा रहेको सूचना अधिकारी सोभित रिजालले जानकारी दिए । ‘सेवा प्रदायक अस्पताल सूचीकरण कार्यविधि २०७८, बीमा दावी समीक्षा तथा मूल्यांकन कार्यविधि २०७८ पास भइ कार्यान्वयनको चरणमा छ,’ उनले भने । विपन्न कार्यक्रम अन्तर्गतको कडारोग उपचार खर्च स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गर्ने कार्यविधि २०७८ स्वीकृतिका लागि मन्त्रालयमा बोर्डले पठाइसकेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि २०७८, स्वास्थ्य बीमा कार्यक्रमको नमुना पालिका बनाउने कार्यविधि २०७८, प्रदेश तथा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन कार्यविधि २०७८ स्वीकृति भइ कार्यान्वयनको चरणमा रहेको रिजालले जानकारी दिए । निजामती कर्मचारी र परिवारको औषधी उपचार (स्वास्थ्य बीमा कार्यक्रम) सञ्चालन कार्यविधि २०७८ को मस्यौदा तयार भएको उनले बताए ।

डा. दामोदर बसौला, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड

नियमावली विपरित कार्य गर्ने र गलत दावी गर्ने अस्पताललाई कारबाहीको प्रक्रियासमेत बसौलाले सुरु गरिसकेका छन् । यसैक्रममा झापाको एड्भान्स मल्टिस्पेसियालिटी अस्पताललाई बोर्डले कारबाही गरेको छ । उक्त अस्पतालले ४ हजार २ सय रुपैयाँ बीमा दावी गर्नुपर्नेमा फेक रिपोर्ट बनाउँदै ५८ हजार रुपैयाँको बीमा दावी गरेको थियो ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारको नागरिक एप्समा आबद्ध गरेको छ । ‘स्वास्थ्य बीमाका लागि मोबाइल एप्लिकेसन तयार गरी कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ,’ कार्यकारी निर्देशक बसौलाले भने, ‘सेवा प्रदायकहरुको सफ्टवयरसँग प्रत्यक्ष लिंक गरी रियल टाइम डाटा प्राप्त गर्ने उद्देश्यसहित बीमा व्यवस्थापन सूचना प्रणालीलाई अपग्रेड पनि गरेका छौं ।’

त्यसैगरी बोर्डले ललितपुर जिल्लाको ३ वटा स्थानीय तहमा कार्यक्रम विस्तारको लागि दर्ता सहयोगी छनौट तथा स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्य सम्पन्न गरिसकेको छ । ‘स्वास्थ्य बीमालाई आम नागरिकको पहुँचमा पुर्याउने सरकारको उद्देश्य सफल पार्न हामी निरन्तर लागिरहेका छौं,’ बसौलाले भने, ‘सीमित स्रोत, साधन र कर्मचारीको बाबजुत पनि सेवालाई चुस्तदुरुस्त र छिटो छरितो बनाएका छौं ।’

You might also like

Comments are closed.