काठमाडौं । चिउरामा ‘कुरुम कुरुम’ ब्राण्ड लेख्ने अधिकार हाइलाइफले पाएको छ । उद्योग विभागले हाइलाइफ–सिक्सभिल्ला ट्रेडमार्क विवादमा कुरुम कुरुम ब्राण्डको अधिकार हाइलाइफको भएको निर्णय गरेको हो ।
हाइलाइफ उत्पादन गर्ने नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि र सिक्सभिल्ला प्रालिबीच लामो समयदेखि चलिरहेको व्यापारिक चिन्ह सम्बन्धी विवादमा उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्ला प्रालिको दर्ता बदर गरेको हो ।
विभागले दुवै पक्षका प्रमाण, तर्क र सर्वोच्च अदालतका नजिरहरूको अध्ययनपछि यस्तो चिउरामा कुरुम कुरुमको ब्राण्डको अधिकार हाइलाइफकाृ भएको सुनाएको हो ।
विवादको मूल विषय नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालिले प्रयोग गर्दै आएको ‘हाइलाइफ’ नामक व्यापारिक चिन्ह र त्यससँग सम्बन्धित लेबल, डिजाइन, रङ्ग संयोजन तथा समग्र प्रस्तुति रहेको थियो । उजुरकर्ताले सिक्सभिल्ला प्रालिले सोही चिन्हको रूप, बनावट र प्रस्तुति हुबहु नक्कल गरी आफ्नो नाममा दर्ता गराएको आरोप लगाएको थियो ।
उजुरकर्ताका अनुसार ‘हाइलाइफ’ ब्रान्ड लामो समयदेखि बजारमा स्थापित भइसकेको, उपभोक्ताले चिन्ने र विश्वास गर्ने चिन्ह बनेको अवस्थामा सिक्सभिल्लाले मिल्दोजुल्दो संरचना प्रयोग गर्दा उपभोक्तामा भ्रम उत्पन्न हुने र आफ्नो व्यापारिक साखमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको उल्लेख थियो ।
उद्योग विभागले दुवै पक्षको दाबी, पेश भएका कागजात र दृश्य प्रमाणहरूको अध्ययनपछि सिक्सभिल्लाले दर्ता गराएको व्यापारिक चिन्ह ‘हाइलाइफ’सँग अत्यधिक मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेको हो ।
लेबलको बनावट, रङ्ग संयोजन, अक्षरको शैली, वस्तुको प्रस्तुति र समग्र बाहिरी स्वरूपमा उल्लेखनीय समानता देखिएको विभागले जनाएको छ।
‘व्यापारिक चिन्हको मुख्य विशेषता नै फरक पहिचान हुनु हो । कुनै पनि चिन्हले बजारमा अलग पहिचान बनाउन नसकेमा वा पहिले नै स्थापित चिन्हसँग मिल्दोजुल्दो देखिएमा त्यसलाई वैध मान्न सकिँदैन । यस सन्दर्भमा ‘हाइलाइफ’ पहिले नै दर्ता भई प्रयोगमा आएको र बजारमा स्थापित भएको प्रमाणित भएपछि ‘सिक्सभिल्ला’को दर्ता मौलिक भएको देखिएन’ उद्योग विभागको फैसलामा भनिएको छ ।
सर्वोच्च अदालतका विभिन्न नजिरहरूलाई आधार बनाउँदै उद्योग विभागले व्यापारिक चिन्हलाई औद्योगिक सम्पत्तिको रूपमा व्याख्या गरेको छ । कुनै पनि उद्यमीले सिर्जना गरेको चिन्ह, डिजाइन वा पहिचानमा उसको एकाधिकार रहने र त्यसको संरक्षण गर्नु राज्यको दायित्व हुने नजिरहरूमा उल्लेख गरिएको छ ।
यस्तै, उपभोक्तालाई झुक्याउने वा भ्रममा पार्ने उद्देश्यले मिल्दोजुल्दो चिन्ह प्रयोग गर्नु व्यापारिक मर्यादाविपरीत हुने र यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने पनि निर्णयमा लेखिएको छ ।
विभागले सिक्सभिल्ला प्रालिको दर्ता उपभोक्तामा भ्रम सिर्जना गर्ने खालको भएको, मौलिकता नदेखिएको र उजुरकर्ताको स्थापित पहिचानसँग अत्यधिक समानता रहेको ठहर गर्दै उक्त व्यापारिक चिन्हको दर्ता बदर गर्ने निर्णय सुनाएको हो।

निर्णयमा थप उल्लेख गरिएको छ कि व्यापारिक चिन्ह दर्ता गर्दा केवल पहिलो निवेदन मात्र आधार नहुने, बरु चिन्हको मौलिकता, फरक पहिचान र उपभोक्तामा भ्रम नपार्ने पक्षहरू पनि समान रूपमा महत्वपूर्ण हुनेछन् ।
उद्योग विभागले अन्तिम निर्णय सुनाउँदै सिक्सभिल्लाको दर्ता पूर्ण रूपमा खारेज गरेको छ ।
यो निर्णयले नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, मौलिक सिर्जनाको सम्मान र उपभोक्ता हितको सुरक्षा कति महत्वपूर्ण छ भन्ने सन्देश दिएको छ । बजारमा स्थापित चिन्हको नक्कल गरेर व्यापारिक फाइदा लिन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै यस्तो निर्णयले स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।






Comments are closed.