‘विद्यार्थीको लगानीमा नमुना व्यवसाय सञ्चालन गर्ने तयारीमा छौं’

मणिप्रसाद डुम्रे इन्चार्ज, हिमाल कलेज अफ म्यानेजमेन्ट

स्थापनाकै छोटो समयमा प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था मध्येमा पर्न सफल छ, हिमाल कलेज अफ म्यानेजमेन्ट। व्यवस्थापन विषयलाई कक्षा ११ बाट नै व्यावसायिक एवं व्यवहारिक सिकाईमा जोड दिने उद्देश्यका कलेज सञ्चालन गरिएको हो । यसै सन्दर्भमा कलेजका विशेषता, विद्यार्थीहरुको आकर्षण, व्यवस्थापन अध्ययनको महत्व तथा अवसर लगायत विविध विषयमा केन्द्रित रहेर क्याम्पसका इन्चार्ज मणीप्रसाद डुम्रेसंग गरिएको कुराकानीको सारः

हिमाल कलेज अफ म्यानेजमेन्टले के-कस्ता शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
वि.स. २०७५ सालदेखि सञ्चालनमा आएको पोखरा–८, बगालेटोलमा अवस्थित हिमाल कलेज अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्राइभेट क्याम्पस हो ।

त्रिभुवन विश्वविद्यालयको चार बर्षे बिबिएस कार्यक्रम सगँसगैं हामीले २०७६ सालदेखि कक्षा ११ र १२ मा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गरिरहेका छौँ ।  स्थापनाको बर्षदेखि नै विद्यार्थी भर्नाको आधारमा संख्यात्मक फड्को मारेको हाम्रो क्याम्पसले बिबिएसको पहिलो र दोस्रो बर्ष लगातार गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याएर गुणात्मक हिसाबले पनि महत्वपूर्ण शैक्षिक उपल्ब्धी प्राप्त गरिसकेको छ ।

यद्यपि, हामी सफलतालाई विद्यार्थीले प्राप्त गरेको नम्बरले मात्र निर्धारण गर्छ भन्ने बुझाईमा विश्वास गर्दैनौँ । हाम्रो ग्रयाजुएटहरूमा कि त आफ्नो व्यवसाय सञ्चालन गर्ने आट र दक्षता हुनु पर्यो ।र, यदि कतै रोजगारीमा आबद्ध हुने भए त्यसको लागि फिट हुनु पर्यो भन्ने हाम्रो प्रयास र उद्देश्य हो ।

उच्च शिक्षाका लागि विद्यार्थीले हिमाल कलेज नै किन रोज्ने ?
हिमाल कलेज अफ म्यानेजमेन्ट स्पेसिफाईड कलेज हो । खासगरी साइन्स, इन्जिनियरिङ, मेडिसिन, एग्रिकल्चर, आईटी जस्ता विषय पढ्ने विद्यार्थीहरूलाई जसरी व्यवहारिक तरिकाले पठनपाठन र सिकाईमा सहभागी गराईन्छ ।

म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरू त्यो अवसरबाट करिब-करिब वन्चित नै छन् । उनीहरूलाई सैद्धान्तिक सिकाईमा मात्र प्राथमिकता दिने नेपालका कलेज तथा विश्वविद्यालयको प्रचलन छ । हामी म्यानेजमेन्ट एवं होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई उनीहरूको क्षेत्र सम्बन्धित व्यवहारिक सिकाईमा जोड गर्दछौँ । इन्टर्नसिप, फिल्ड भिजिट, प्रोजेक्ट वर्क, गेष्ट लेक्चर्रस् कक्षाहरू, करियर सम्बन्धित वर्कसप इत्यादि हाम्रो नियमित शैक्षिक गतिविधि हुन् ।

यस्ता क्रियाकलापहरुबाट विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानका अलावा भविष्यमा अति आवश्यक गुणहरू जस्तो कि आत्मविश्वास, नेतृत्वसिप, परिपक्वता, निर्णय क्षमता, समुहमा काम गर्न सक्ने खुबी एवं नविनतम व्यावसायिक विचारहरूको विकाश गर्दछ, जसले उनीहरूलाई ग्य्राजुएसन पछि आउने चुनौती एवं अवसरहरूको सदुपयोग गर्न धेरै सहयोग गर्दछ ।हाम्रो कलेज प्राइभेट भएता पनि हामी सामाजिक उत्तरदायित्वलाई उत्तिकै महत्व दिन्छौं ।

तुलनात्मक हिसाबले न्यूनतम शैक्षिक शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्न हामी दृढ छौँ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई हामी सक्दो सहयोग गरेर अगाडि बढिरहेका छौँ ।

कलेज सञ्चालन गर्नु कत्तिको चुनौतिपुर्ण हुन्छ ?
विभिन्न पारिवारिक, आर्थिक, सामुदायिक एवं शैक्षिक अवस्था तथा वातावरणबाट आएका विद्यार्थीहरूका बिभिन्न आवश्यकतालाई मध्यनजर गर्दै सिकाईको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र एवं सुरक्षित वातावरणमा शैक्षिक एवं अन्य गतिविधिहरु सञ्चालन गर्नु त्यति सजिलो चाहिँ छैन । तथापि, उनीहरूसँग संगत गर्न, सिकाउन, सहकार्य गर्दै रमाउन भने साह्रै रमाईलो हुन्छ ।

हाम्रो कलेज प्रशासनका साथीहरू एवं शिक्षक÷शिक्षिकाहरु दक्ष अनुभवी र संगसगै तुलनात्मकरूपमा युवाहरू हुनुहुन्छ । जसलेगर्दा किशोरावस्था र पूर्व वयष्क अवस्थाका विद्यार्थीहरुसँग सजिलै घुलमिल हुने, उनीहरूको उमेरको सोच र मनोभावन सजिलै बुझ्ने र उनीहरूलाई आइपरेका समस्याको तत्काल समाधान गर्ने खुबी हामीमा छ । जसका कारण कलेजले राम्रो गति लिइरहेको छ । हामीले चुनौतीलाई पनि अवसरका रुपमा लिएका काम गरिरहेका छौं ।

कलेजका भावी योजना के के छन?
अहिले सञ्चालनमा रहेका कार्यक्रमहरू कसरी प्रभावकारी बनाउने र विद्यार्थीहरुलाई परिवर्तनशिल व्यावसायिक संसारमा कसरी घुलमिल गराउन सकिन्छ भन्ने हाम्रो पहिलो प्राथमिकता हो । त्यसैगरि विश्वविद्यालयहरूसगँ समन्वय गरी म्यानेजमेन्टसंग सम्बन्धित अन्य शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रयास पनि जारी राखेका छौँ ।

विशेषगरि अब आउने वर्षमा क्याम्पस र विद्यार्थीहरूको संयुक्त लगानीमा नमुना खालको एउटा व्यवसाय सञ्चालन गर्ने विषयमा हामी छलफल गरिरहेका छौँ । विद्यार्थीहरु नै सञ्चालक, व्यवस्थापक र कर्मचारी भएर व्यवसाय सञ्चालन गर्दा उनीहरूमा व्यवसायको वास्तविक अनुभव संगैं व्यावसायिक ज्ञान र सीपहरू आर्जन हुने र व्यवसाय प्रति अभिरूचि बढ्ने छ, भन्ने हाम्रो बुझाई हो ।

प्रतिस्पर्धात्मक विश्व बजारमा आफ्नो क्षमता तथा दक्षता प्रदर्शन गर्न सक्ने विद्यार्थी हामीले उत्पादन गरिरहेका छौं । विद्यार्थीले आफ्नो दक्षता, क्षमता तथा रुची अनुसार अध्ययन गरि आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

You might also like

Comments are closed.