संकटा क्लबलाई हिमालयन बैंकको प्रायोजन

काठमाडौं । हिमालयन बैंकले ‘शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता’मा सहभागी रहेको संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको छ ।

बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरीद गर्न सहयोग स्वरूप प्रायोजन गरेको जानकारी दिएको छ । बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको बताएको छ ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारी, काठमाडौं महानगरपालिका–२२ का अध्यक्ष चिनीकाजी मर्हजन लगायत क्लबका अन्य प्रतिनिधिहरूको उपस्थिति थियो ।

You might also like

Comments are closed.