हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीले म्युचुअल फण्ड निष्काशन गर्ने

काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड ले आफ्नो पहिलो बन्दमुखी योजना बजारमा ल्याउने भएको छ । कम्पनीले एचएलआई लार्ज क्याप फण्ड नामक योजना भदौ १५ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याउने तयारी गरेको हो ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल ४० करोड इकाई अर्थात ४ अर्ब रुपैयाँबराबरको कोष निष्काशन गर्नेछ । सो मध्ये ५० प्रतिशत अर्थात २० करोड इकाई (२ अर्ब रुपैयाँ) कोष प्रबर्द्धक हिमालयन लाइफ इन्स्योरेन्स का लागि सुरक्षित रहनेछ भने बाँकी २० करोड इकाई (२ अर्ब रुपैयाँबराबर) सर्वसाधारणका लागि खुला हुनेछ ।

निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । इकाई बाँडफाँट भएको मितिबाट योजनाको अवधि १० वर्ष रहनेछ । आवेदन भदौ १५ गतेदेखि १८ गतेसम्म दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ २९ गतेसम्म आवेदन अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।  बिक्री खुला भएको अवधिभित्र न्यूनतम ५० प्रतिशत अर्थात २० करोड इकाईमा आवेदन प्राप्त भएमा इकाई बाँडफाँट हुने र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिनेछ ।

सो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नै रहनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को मेरो शेयर अनलाइन प्लेटफर्म मार्फत आवेदन दिन सक्नेछन् । यस फण्डलाई रेटिङ्ग दिने क्रममा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कोष प्रबर्द्धकलाई आईआरएन ए प्लस इस्यूअर रेटिङ्ग तथा योजना व्यवस्थापकलाई आईआरएन एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

You might also like

Comments are closed.