चितवनबाट सुरु भयो हिमालयन राइडर्सको डोल्पा यात्रा

चितवन । हिमालयन राइडर्सले चितवनबाट डोल्पासम्मको लागि राइड सुरु गरेको छ । आन्तरिक पर्यटन र ‘राइड टुरिजम’लाई बढावा दिने उद्देश्यका साथ राइड आयोजना गरिएको हो । १२५० किलोमिटर लामो साहसिक यात्राको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बुधबार बिहान उद्घाटन गरे ।

चितवन उद्योग वाणिज्य संघको परिसरबाट सुरु भएको राइड ६ दिनसम्म चल्नेछ । टोलीले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न १५ जिल्लालाई समेट्ने राइडका संयोजक एवं चितवन अटोमोबाइल एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशीले जानकारी दिए । ‘यात्राको मुख्य गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको दुर्गम जिल्ला डोल्पालाई बनाइएको छ,’ उनले भने ।

टोलीले चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वको भ्रमण गर्नेछ ।

‘हाम्रो उद्देश्य मोटरसाइकल यात्रामार्फत नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो,’ संयोजक जोशीले भने, ‘यसले ओझेलमा परेका गन्तव्यहरूलाई बाहिर ल्याउन र सडक सुरक्षाको सन्देश प्रवाह गर्न मद्दत पुग्नेछ ।’

चितवन उद्योग वाणिज्य संघ, नासा बागमती प्रदेश र चितवन अटोमोबाइल एसोसिएसनको सहकार्यमा राइड आयोजना गरिएको हो ।

You might also like

Comments are closed.