डोल्पा राइडमा निस्कदै टिम ‘हिमालयन राइडर्स’

चितवन । आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ (साहसिक मोटरसाइकल पर्यटन) लाई बढावा दिने उद्देश्यका साथ हिमालयन राइडर्स चितवनले बाइक राइड गर्ने भएको छ ।

चितवनको नारायणगढबाट यही चैत ११ गते राइड सुरु हुनेछ । करिब १२५० किलोमिटर लामो यात्रा ६ दिनसम्म चल्नेछ । यात्राले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न १५ जिल्लालाई समेट्ने संयोजक अमृत जोशीले जानकारी दिए । राइडमा चितवनका अटोमोबाइल व्यवसायीहरु सहभागी हुनेछन् । २० भन्दा बढी बाइकमा २५ जना भन्दा बढीको सहभागितामा राइड हुने जनाइएको छ ।

यात्राको मुख्य आकर्षण र गन्तव्य

यात्राको मुख्य गन्तव्य दुर्गम तर पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको डोल्पा जिल्लालाई बनाइएको छ । यात्राका क्रममा टोलीले चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वको भ्रमण गर्ने कार्यक्रम छ ।

राइड टुरिजममार्फत पर्यटन प्रवर्द्धन

हिमालयन राइडर्सका संयोजक अमृत जोशीका अनुसार विगतका वर्षहरूमा जस्तै यस पटक पनि देशका स्थापित र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रचार–प्रसारका लागि यो यात्रा तय गरिएको हो । सडक सुरक्षाको सन्देशसमेत प्रदान गरिने उनले बताए ।

‘हाम्रो उद्देश्य भनेको मोटरसाइकल यात्रामार्फत नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रको पर्यटनलाई प्रवर्द्धन गर्नु हो,’ उनले भने, ‘यसले ओझेलमा परेका गन्तव्यहरूलाई बाहिर ल्याउन मद्दत पुग्नेछ ।’

You might also like

Comments are closed.