डोल्पा पुग्यो हिमालयन राइडर्सको टोली

डोल्पा । हिमालयन राइडर्सले चितवनबाट शुरु गरेको राइडको टोली आज तेस्रो दिन डोल्पाको दुनै पुगेको छ । आन्तरिक पर्यटन र ‘राइड टुरिजम’लाई बढावा दिन क्याराभान डोल्पाको थिमसहित पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले राइड आयोजना गरिएको हो ।

टोलीले विभिन्न प्रदेशका १५ जिल्लालाई समेट्ने क्रममा आज डोल्पा पुगेको राइडका संयोजक एवं चितवन अटोमोबाइल एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशीले जानकारी दिए । ‘यात्राको मुख्य गन्तव्य पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको दुर्गम जिल्ला डोल्पालाई बनाइएको हो,’ उनले भने ।

टोली चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम हुँदै डोल्पा पुगेको हो । जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वको पनि भ्रमण गर्नेछ । चैत ११ गते चितवनबाट शुरु भएको राइड चैत १६ गते चितवन पुगेर समापन हुनेछ ।

‘हाम्रो उद्देश्य मोटरसाइकल यात्रामार्फत नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु हो,’ संयोजक जोशीले भने, ‘यसले ओझेलमा परेका गन्तव्यहरूलाई बाहिर ल्याउन र सडक सुरक्षाको सन्देश प्रवाह गर्न मद्दत पुग्नेछ ।’

चितवन उद्योग वाणिज्य संघ, नासा बागमती प्रदेश र चितवन अटोमोबाइल एसोसिएसनको सहकार्यमा राइड आयोजना गरिएको हो ।

 

You might also like

Comments are closed.