काठमाडौँ । मानार्थ वाणिज्यदूतहरूको संघ–नेपाल (HCC-N) का डिन चन्द्रप्रसाद ढकालले नेपालका मानार्थ वाणिज्यदूतहरू आर्थिक कूटनीतिका सक्रिय संवाहक भएको बताएका छन्।
काठमाडौंमा सम्पन्न संघको १८औँ महासभा तथा चार्टर डेको अवसरमा बोल्दै उनले भने, “हामी केवल औपचारिक पात्र मात्र होइनौं, हामी सक्रिय, सक्षम र नेपालको कूटनीति तथा विकासप्रति प्रतिबद्ध सहयोगी हौं।”
ढकालले आजको परस्पर-निर्भर संसारमा आर्थिक कूटनीतिको महत्व तीव्र गतिमा बढिरहेको बताए । “आर्थिक कूटनीति अब विकल्प होइन, आवश्यकताका रूपमा देखिएको छ,” उनले भने।
IME ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का नेतृत्वकर्ता समेत रहेका ढकालले मानार्थ वाणिज्यदूतहरूको टोली नेपालको राष्ट्रिय हितमा सधैँ साथ रहने प्रतिबद्धता दोहोर्याए । उनले नेपाल न्यूनतम विकसित राष्ट्र (LDC) को श्रेणीबाट उक्लने प्रक्रियामा रहेको सन्दर्भ उठाउँदै, आर्थिक रूपान्तरणका लागि मानार्थ वाणिज्यदूतहरू “स्वैच्छिक दूत” का रूपमा अघि सर्नुपर्नेमा जोड दिए ।
उनले HCC-N पहिलेभन्दा बढी एकताबद्ध भई राष्ट्रिय प्राथमिकताहरू अनुरूप क्रियाशील भएको विश्वास व्यक्त गरे । साथै, HCC-N र परराष्ट्र मन्त्रालयबीचको सहकार्यलाई पनि उनले सकारात्मक रूपमा चित्रित गर्दै नेपालमा पहिलोपटक आयोजना हुने आर्थिक सम्मेलनका लागि FNCCI सँग मिलेर आवश्यक पूर्वाधार तयार पारिएको जानकारी दिए ।
ढकालले चन्द्रगिरिमा परराष्ट्र मन्त्रालयको सहकार्यमा सम्पन्न कार्यशालाको स्मरण गर्दै, त्यहाँ मानार्थ वाणिज्यदूतहरूले विदेशी लगानी, नवप्रवर्तन, व्यापार, पर्यटन र प्रवासी संलग्नता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको आर्थिक कूटनीतिमा मानार्थ वाणिज्यदूतहरूको भूमिकाको सराहना गरिन्। उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच व्यापार, पर्यटन र लगानी आकर्षणमा वाणिज्यदूतहरूले सेतुको भूमिका खेल्न सक्ने बताइन्।
संयुक्त राष्ट्रसंघका पूर्व अवर महासचिव ज्ञानेन्द्र चन्द्र आचार्यले उद्घाटन मन्तव्य दिँदै विकास र कूटनीतिको समन्वय आवश्यक रहेको बताए। कार्यक्रममा ढकाले औपचारिक रूपमा डिनको पद मानार्थ बल्गेरियाका वाणिज्यदूत भोला विक्रम थापालाई हस्तान्तरण गरे।
कार्यक्रममा सरकारी पदाधिकारी, कूटनीतिज्ञहरू तथा वाणिज्यदूत समुदायका सदस्यहरूको उपस्थिति थियो ।
Comments are closed.