राधिका ढकाल
नेपालको पर्यटनसँग जोडिएको हस्पिटालिटी मौलिक जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोडिएको छ । हस्पिटालिटी सेवा व्यवसायमा सीमित नभई राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख इञ्जिनका रूपमा विकसित भएको छ । होटल, रिसोर्ट, होमस्टे, गेस्ट हाउस, रेस्टुरेन्ट, ट्राभल एजेन्सी र गाइड सेवासम्म फैलिएको हस्पिटालिटीले लाखौँ नेपालीलाई रोजगारी दिएको छ भने विदेशी मुद्रा आर्जनको मुख्य आधार पनि बनेको छ ।
नेपाल पर्यटन बोर्ड, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (WTTC) का तथ्याङ्कअनुसार नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ११ लाख मानिस संलग्न छन् । पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब ६ प्रतिशत योगदान पु¥याउँदै आएको छ । रेमिट्यान्सपछि विदेशी मुद्रा आर्जन गर्ने दोस्रो ठूलो क्षेत्रका रूपमा पर्यटन स्थापित हुँदै जानुमा हस्पिटालिटी उद्योगको भूमिका देखिन्छ ।
नेपालमा हस्पिटालिटी प्राचीन कालदेखि नै नेपाल तीर्थयात्री, व्यापारी, साधु–सन्त र विद्वानहरूको आवागमनको केन्द्र रहँदै आएको छ । मठमन्दिर, धर्मशाला, गुम्बा र गाउँघरका घरहरूमा निःशुल्क आश्रय र सत्कार दिने परम्पराले ‘अतिथि देवो भवः’ भन्ने मूल्यलाई नेपाली समाजको सांस्कृतिक पहिचान बनायो । यही संस्कार आधुनिक हस्पिटालिटी उद्योगको नैतिक आधार पनि हो, जहाँ पाहुनालाई केवल ग्राहक नभई सम्मानित अतिथि मानिन्छ ।
नेपालको हस्पिटालिटी क्षेत्रको विकास भने सन् १९५० को दशकपछि तीव्र रूपमा सुरु भयो । सन् १९५१ मा नेपालले औपचारिक रूपमा विदेशी पर्यटकलाई स्वागत गरेपछि काठमाडौंको ठमेल क्षेत्रमा साना होटलहरू खुल्न थाले । सन् १९५६ मा पर्यटन विभागको स्थापना र पहिलो पर्यटन नीतिको घोषणाले उद्योगको संस्थागत विकासका लागि कानुनी र प्राविधिक आधार तयार ग¥यो । सन् १९६० र ७० को दशकमा हिप्पी आन्दोलनको प्रभावसँगै ठमेल, पोखरा र चितवनजस्ता क्षेत्रमा होटल, रेस्टुरेन्ट र ट्राभल व्यवसायको विस्तार भयो ।
यसै सन्दर्भमा वि.सं. २०२२ मा स्थापना भएको होटल एसोसिएन नेपालले नेपाली हस्पिटालिटी उद्योगलाई संगठित र संस्थागत गर्न ऐतिहासिक भूमिका निर्वाह ग¥यो । विसं. २०२३ माघ २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको हान आज देशभरका होटल तथा रिसोर्टहरूको राष्ट्रिय महासंघका रूपमा स्थापित छ । ‘आतिथ्यको घर’ भन्ने नारासहित हानले नीतिगत वकालत, उद्योग स्तरीकरण, लगानी प्रवद्र्धन र सरकारी–निजी सहकार्यमा नेतृत्व गर्दै आएको छ ।
हाल हानमा ६ हजारभन्दा बढी होटल आबद्ध छन् । नेपालभर पर्यटन स्तरका होटल १० हजारभन्दा बढी सञ्चालनमा छन् । जसमा २ सय ५० भन्दा बढी तारे होटल, २ हजार ४ सय नन–तारे होटल र करिब ६० हजार बेड क्षमताको संरचना छन् । काठमाडौं, पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा अन्तर्राष्ट्रिय चेन होटलदेखि बुटिक होटल र ग्रामीण होमस्टेसम्मको सञ्जाल विस्तार भएको छ ।
नेपाल पर्यटन बोर्डको मासिक प्रतिवेदन अनुसार डिसेम्बर २०२४ मा मात्रै १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यसरी नेपाल भित्रिएका पर्यटकलाई हालको पूर्वाधारले सहज रूपमा ४० देखि ५० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्दछ, तर हवाई कनेक्टिभिटी, नीतिगत अस्थिरता र बजार प्रवद्र्धनको कमजोरीका कारण त्यो सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको हानले जनाएको छ ।
हस्पिटालिटी क्षेत्रको विस्तारसँगै ग्रामीण पर्यटन र होमस्टेले पर्यटनमा नयाँ आयाम थपेको छ । नेपाल पर्यटन बोर्डका अनुसार देशभर आधिकारिक दर्ता गरिएका सामुदायिक होमस्टे एक हजार, पाँच सय भन्दा बढी छन् । ग्रामीण होमस्टेहरूले स्थानीय जीवनशैली, परम्परागत खाना, लोकगीत, नृत्य र संस्कारमार्फत पर्यटकलाई ‘जीवित संस्कृति’को अनुभव गराइरहेका छन् । दूध, दही, मोही, ढिँडो, गुन्द्रुक, साग, मासुजस्ता परिकारसँगै आत्मीय सत्कार नेपाली हस्पिटालिटीको विशिष्ट पहिचान बनेको छ ।
डिजिटल प्रविधिको प्रवेशले हस्पिटालिटी उद्योगलाई नयाँ दिशातर्फ डो¥याएको छ । अनलाइन बुकिङ प्रणाली, स्मार्ट होटल सेवा, डिजिटल मार्केटिङ र प्रविधिमैत्री व्यवस्थापन मोडलहरू तीव्र रूपमा विस्तार भइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा समेत अनलाइन बुकिङ प्लेटफर्महरुको विकास भएको छ । जसले गर्दा सेवा प्रदायक र सेवाग्राही पर्यटक दुवै लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय प्लेटफर्महरूको रिपोर्टअनुसार ४० प्रतिशतभन्दा बढी पर्यटक अनलाइन बुकिङ प्रणाली प्रयोग गर्छन् । यसले सेवा गुणस्तर, पारदर्शिता र प्रतिस्पर्धालाई पनि बढाएको छ ।
लगानीकर्ताहरूको दृष्टिले पनि नेपालको हस्पिटालिटी क्षेत्र आकर्षक बन्दै गएको छ । परम्परागत होटल व्यवसायभन्दा बाहिर निस्केर वेलनेस टुरिजम, योग तथा ध्यान केन्द्र, ग्यास्ट्रोनमी टुरिजम, साहसिक पर्यटनसँग जोडिएका रिसोर्ट र डिजिटल प्लेटफर्ममा लगानी बढ्दै गएको छ । होटल क्षेत्रमा मात्रै १८ देखि २० खर्ब रुपैयाँ बराबरको लगानी भइसकेको हानका अध्यक्ष बिनायक शाह बताउँछन् । तर नीति, कानुन, कर प्रणाली, महँगो हवाई भाडा र राजनीतिक अस्थिरताका कारण अपेक्षित प्रतिफल लिन कठिन भइरहेको व्यवसायीहरूको गुनासो छ ।
कोभिड–१९ महामारीले पर्यटन र हस्पिटालिटीलाई झट्का दियो । होटलहरू बन्द भए, रोजगारी जोखिममा पर्यो र लगानी थला प¥यो । तर अन्य उद्योगजस्तो पूर्ण रूपमा रोकिएन । महामारीकै समयमा पनि तीन र चारतारे होटल सञ्चालनमा आए, आन्तरिक पर्यटनले उद्योगलाई जोगायो र होटल व्यवसाय काठमाडौं केन्द्रित अवस्थाबाट सातै प्रदेशमा विस्तार हुँदै गयो ।
हानले २०२६ जनवरीदेखि २०२७ जनवरीसम्म डायमण्ड जुबिली कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । काठमाडौंदेखि देशभरका प्रदेशहरुमा डायमण्ड जुबिली अन्तर्गत कार्यक्रमहरु हुनेछन् । यो अभियानको सुरुवातमा ‘होटल एक्स्पो’ आयोजना हुँदैछ । हान अध्यक्ष शाहका अनुसार होटल एक्स्पो एक दिनको कार्यक्रम होइन, यो एक वर्षे अभियान हो, जसले नेपाली पर्यटनलाई नयाँ दिशा दिनेछ । ‘होटल एक्स्पोमार्फत होटल, पर्यटन, ट्राभल, फुड, टेक्नोलोजी, आपूर्तिकर्ता र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याइने लक्ष्य राखिएको छ,’ उनले भने ।
संघीय संरचनामा मुलुक प्रवेश गरेसँगै हान राष्ट्रिय महासंघका रूपमा रूपान्तरण भएको छ । सार्वजनिक खरिद ऐन, पर्यटन नीति, कर प्रणाली, होटल वर्गीकरण र सेवा मापदण्ड निर्माणमा संघले सरकारसँग सहकार्य गर्दै आएको छ । नेपाल टुरिजम इअर १९९८, २०११ र भिजिट नेपाल २०२० जस्ता राष्ट्रिय अभियानहरूमा पनि होटल संघ नेपालको नेतृत्वदायी भूमिका छ ।
तर, पर्यटन ऐन २०३५ अझै परिमार्जन हुन सकेको छैन । श्रमिक पलायन, दक्ष जनशक्तिको अभाव, हवाई कनेक्टिभिटीको कमजोरी र क्षेत्रीय प्रतिस्पर्धा बढ्दो छ । तर भारत र चीनजस्ता विशाल बजारबीचको भौगोलिक अवस्थाले नेपाललाई ठूलो अवसर पनि दिएको छ । ती बजारबाट दुई प्रतिशत पर्यटक भित्र्याउन सके मात्रै ५० देखि ६० लाख पर्यटक नेपाल ल्याउन सकिने अनुमान छ ।
नेपालको हस्पिटालिटी सेवा उद्योग नभई आर्थिक विकास, रोजगारी सिर्जना, सांस्कृतिक संरक्षण र सामाजिक समावेशीकरणको आधार बनेको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आत्मीय अतिथि सत्कारलाई संस्थागत, प्रविधिमैत्री र दिगो रूपमा अघि बढाउन सके नेपाली पर्यटनले राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउनेमा सरोकारवालाहरू विश्वस्त देखिन्छन् ।




Comments are closed.