वि.सं. २०२३ सालमा स्थापना भई निरन्तर रूपमा देशभर रहेका होटल तथा रिसोर्टहरूको साझा संस्थाका रूपमा क्रियाशील होटल संघ नेपालले आफ्नो ६०औं वर्ष पूरा गरी हीरक जयन्ती मनाउन सफल भएको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । लामो समयदेखि नेपाली होटल उद्योगको नेतृत्व गर्दै आएको यस संस्थाले पर्यटन क्षेत्रको संस्थागत विकासमा अतुलनीय योगदान पु¥याउँदै आएको छ ।
होटल संघ नेपालले पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्दै नेपाली आतिथ्य संस्कृति र मौलिक पहिचानलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई मजबुत बनाउँदै पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न संघले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ । रोजगारी सिर्जना, लगानी प्रोत्साहन तथा पर्यटन पूर्वाधार विकासमा संघको सक्रियताले देशको समग्र आर्थिक गतिशीलतामा सकारात्मक प्रभाव पारेको छ ।
हीरक जयन्ती समारोहमा होटल उद्योगसँग सम्बन्धित सदस्यहरू, होटल सञ्चालकहरू, देशका विभिन्न क्षेत्रबाट आउनुभएका उच्च पदस्थ अधिकारीहरू, विदेशी मुलुकका राजदूतहरू तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति नै यस कार्यक्रमको गरिमा र महत्वको प्रतिविम्ब हो । विशेषगरी नेपाली मौलिक खानाका स्वाद र परिकारलाई केन्द्रमा राखी आयोजना गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा थप टेवा पुग्ने विश्वास लिएको छु ।

हालको परिवेशमा होटल उद्योगले अपेक्षित अकुपेन्सी हासिल गर्न नसकिरहेको यथार्थ हाम्रो सामु छ । पर्यटन क्षेत्रमा विद्यमान चुनौतीहरूलाई पहिचान गरी समाधानतर्फ अघि बढ्दै, दिगो पर्यटन विकासलाई केन्द्रमा राखेर सबै सरोकारवाला मिलेर काम गर्नु आजको आवश्यकता हो । यस दिशामा होटल संघ नेपालले आगामी दिनमा अझ प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गर्दै, संघको उज्ज्वल भविष्यको कामना गर्दछु ।
(होटल संघ नेपालको हीरक जयन्ती समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्रीमान मुकुन्द प्रसाद निरौलाको सम्बोधनको सम्पादित अंश)




Comments are closed.